
यार्सागुम्बा व्यवसायमा लगानी गर्ने प्रलोभनमा पारी ३६ लाख ठगी गर्ने जाजरकोट नलगाड नपा–७ दल्लीका ४१ वर्षीय दीपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई १५ वैशाखमा ठमेलस्थित दोहोरी साँझबाट पक्राउ गरेको हो ।
उनले आफू पूर्वप्रहरी भएको र अमेरिकाबाट भर्खरै फर्किएको भन्दै यार्सागुम्बा व्यवसायमा लगानी गर्न सार्वसाधारणलाई प्रलोभन बाँड्ने गर्थे । मनग्य नाफा हुने भनेपछि उनलाई पीडितले ३६ लाख दुई हजार १६६ रुपैयाँ दिएको थिए ।
रकम लिएपछि उनी फरार भएका थिए । प्रहरीका अनुसार उनी पटके ठग हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रुपैयाँ ठगीको मुद्दा दर्ता रहेको छ ।
त्यस्तै, नेपाल प्रहरीमा भर्ती गरिदिने प्रलोभनमा युवाबाट १० लाख उठाएका थिए । पीडितले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरेका छन् । नेपाली सेनामा भर्ती गरिदिने प्रलोभनमा पनि उनले पीडितबाट चार लाख असुलेका थिए ।