१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
Invalid date format ११:o४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘लोडसेडिङ’को मारमा सार्वजनिक इभी

विनाजानकारी दैनिक दुई घण्टासम्म बिजुली कटौती हुन थालेपछि गाडी चार्ज गर्नै धौधौ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o४:oo

सार्वजनिक सवारीसाधनमध्ये इभी गाडी अधिकांश यात्रुको रोजाइमा पर्ने गर्छ । तर, पछिल्लो समयमा दैनिक बिजुली आधा घण्टादेखि दुई घण्टासम्म कटौती हुन थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । सोमबार काठमाडौंबाट धरान हिँडेको सुजुपी ट्रभल्स इभीका चालक क्षितिज मगरले तीन घण्टा बिपी लोकमार्गमा चार्जिङका लागि विद्युत्कै खोजीमा बिताउनुपर्‍यो । उनले भने, ‘पछिल्लो समय विद्युत् कटौतीले मारमा परेका छौँ । जहाँ चार्ज गर्दै आएका थियौँ । त्यहाँ विद्युत् नभएको जानकारी आउनसाथ अर्को विकल्प खोज्नुपर्ने हुन्छ । विकल्प खोज्दा समय पनि ढिला भयो । यात्रुलाई पनि हैरानी दिएजस्तो हुन्छ । पहिलाजस्तो जहाँ पायो त्यहीँ चार्ज गर्न पाइन छाडेको छ ।’ काठमाडौं–गाईघाट इभी गाडी चलाउने चालक सुवास मगरले पछिल्लो समय विद्युत् कटौती हुने, हावाहुरीले विद्युत् अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या आएको बताए । उनले भने, ‘पहिला यस्तो गरी विद्युत् कटौती भएको थिएन । अहिले बढेको अनुभव गरेको छु ।’

उनले उदयपुरको सदरमुकाम गाईघाटबाट काठमाडौंको सडक दूरी झन्डै तीन सय ८० किलोमिटर रहेको बताउँदै भने, ‘एकपटक फुल चार्ज गर्दा झन्डै एक सय किलोमिटर दौडिन्छ । त्यसमा उकालो–आरालो गर्दा अलि बढी चार्ज गर्नुपर्ने हुन्छ । तर, विद्युत् नहुँदा पीडा हुन्छ । यात्रुलाई पनि सास्ती हुन्छ । अनुमान गरिएको समयमा गन्तव्यमा पुग्न सकिएको छैन ।’

चालक मगरले दश सिट नै भएका पेट्रोल–डिजेलबाट चल्ने हायसभन्दा इभी सस्तो हुने पनि बताए । उनले  भने, ‘हायस गाडीले एकपटक गाईघाटबाट काठमाडौं पुग्दा पाँचदेखि छ हजारको पेट्रोल–डिजेल खपत गर्छ । अनि भाडा पनि गाईघाट–काठमाडौंको १३ सय रुपैयाँदेखि माथि लिने गर्छन् । इभीले काठमाडौंबाट गाईघाटसम्म चार्जिङ खर्च मात्र एक हजारदेखि १२ सय भए पुग्छ । अनि यात्रुबाट हामी एक हजार भाडामै यात्रा गराउँछौँ ।’ पेट्रोल–डिजेल गाडीभन्दा पनि इभी केही सस्तो पर्ने भएकाले यात्रुमा लोकप्रिय बन्दै गएको छ । 

साथी पावर फास्ट चार्जिङ स्टेसन खाल्टे सिन्धुलीका सञ्चालक इमानसिंह घिसिङले विद्युत् कटौती हुँदा पूर्वबाट बिपी लोकमार्गमा समस्या हुने गरेको बताए । उनले भने, ‘हाम्रोतिर पछिल्लो समय विद्युत् कटौती हुँदा धेरै मारमा इभी गाडी पर्ने गरेका छन् । 

विनाजानकारी कुनै वेला आधा घण्टादेखि दुई घण्टासम्म विद्युत् कटौती हुने गरेको छ ।’ इभी गाडीमै काठमाडौंबाट इटहरी यात्रामा रहेकी यानकुमारी चौधरीले चार्ज गर्न नपाएर गाईघाटमा रोकिनुपरेको बताइन् । उनले भनिन्, ‘इभी चार्जिङ गर्न नपाउँदा समयमा गन्तव्यमा पनि पुग्न सकिँदैन ।’