
नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि क्रिएटिभ युवालाई जोड्ने भएको छ । देशको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवापुस्तालाई जोड्ने उद्देश्यसहित बोर्डले मंगलबार ‘कनेक्टिङ कन्टेन्ट क्रिएटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम गरेको छ ।
बोर्डले पर्यटकीयउपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्द्धनका लागि प्रोत्साहित गरेको हो । कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुति गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रवर्द्धन हुन नसकेका गन्व्यको भिडियो सामग्री प्रस्तुत गरिएको हो ।
बोर्डका सिइओ दीपकराज जोशीले विद्यमान पर्यटन प्रवर्द्धन र प्रचारका नयाँ पुस्तालाई जोडेर प्रविधिको भरपूर उपयोग गर्नुपर्ने बताए । उनले भने, ‘लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ ।
पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकाले हामीले पनि नयाँ गन्तव्यको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ ।’
अहिले देशभरबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवापुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सिइओ जोशीले थपे, ‘देशभरका सातै प्रदेशमा ‘कन्टेन्ट क्रिएटर’हरूका रूपमा लागिरहनुभएका युवापुस्ताले खोजी गरेका दूरदराजका वैभवता र विशेषतालाई प्रचार र प्रवर्द्धन गरिरहनुभएको छ, उहाँहरूलाई पर्यटकीयउपज उत्पादकसँग जोड्न यो कार्यक्रम आयोजना गरिएको हो ।’ उनले आगामी दिनमा पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेको युवापुस्ता सँगसँगै काम गर्न बोर्ड खुला रहेको बताए । उनले थपे, ‘हामी कन्टेन्ट क्रिएटरसँग मिलेर पर्यटनलाई रिइम्याजिन गर्न प्रतिबद्ध छौँ ।’
कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनीष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली (सिर्जना सिज्जु) र सुदूरपश्चिम प्रदेशबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहित भिडियो सामग्री प्रस्तुत गरेका थिए ।