१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
Invalid date format o९:oo:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : छक्का र चौका मात्रै रुचाउने वैभव

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:oo:oo

१८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सविरुद्ध ३५ बलमै शतकीय इनिङ्स खेलेपछि राजस्थान रोयल्सका वैभव सूर्यवंशीको चर्चा सबैतिर छ । भारतीय सञ्चारमाध्यमले मंगलबार वैभवको कीर्तिमानी इनिङ्सलाई नै प्राथमिकता राखेका छन् । विश्वकै महँगो फ्रेन्चाइज आइपिएलमा वैभवले कसरी १४ वर्षको उमेरमै दोस्रो कम बलमा शतक बनाए, अझ आइपिएलको आफ्नो तेस्रो खेलमै कसरी सम्भव भयो भन्ने प्रश्न उठेको छ । उनले सोमबार राति घरेलु मैदानमा असम्भव कामलाई सम्भव बनाए । 

गुजरातविरुद्ध उनले छक्काको कीर्तिमान रेकर्डसमेत बराबरी गरेका थिए । उनले चालू आइपिएलमा सबैभन्दा कम बलमा अर्धशतकको समेत रेकर्ड आफ्नो नाममा राखे । वैभवले केवल १७ बलमा अर्धशतक बनाए । सन् २०२० मा चेन्नई सुपर किंग्सका मुरली विजयले राजस्थानविरुद्ध एकै इनिङ्समा सर्वाधिक ११ छक्काको रेकर्ड बनाएका थिए । वैभवले विजयसँगको रेकर्ड बराबरी गरेका हुन् । वैभवले छक्काको रेकर्ड बनाउनुअघि राजस्थानका लागि सञ्जु सामसनले सन् २०१८ मा रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध १० छक्काको रेकर्ड बनाएका थिए । आइपिएलमा डेब्यु गरेको इनिङ्सकै पहिलो बलमा छक्का प्रहार गरी सनसनी मचाएका वैभवले गुजरातका करिम जन्नतविरुद्ध एकै ओभरमा ३० रन लिए । करिमका ६ बलमै उनले बाउन्ड्री लगाएका थिए । जसमा उनले समान तीन छक्का र चौका प्रहार गरे । 

व्यक्तिगत कीर्तिमान राखेको प्रतिस्पर्धामा वैभवले खासमा बाउन्ड्रीबाहेक सोच बनाएनन् । खेलपछि उनले आफ्ना पहिलो व्यावसायिक प्रशिक्षक मनीष ओझासँग खुसी साटेका छन् । प्रशिक्षक ओझाले आफ्ना चेलासँग ठट्टा गर्दै प्रश्न राखेछन्, ‘प्रत्येक बलमा छक्का हान्नु आवश्यक थियो ? मैले बुझ्न सकिनँ, एक वा दुई रनले पनि इनिङ्स अगाडि बढ्न सक्थ्यो ? ।’ वैभवले गुरुका प्रश्नको यस्तो उत्तर फर्काउँछन्, ‘मसँग प्रत्येक बललाई बाउन्ड्री लगाउन क्षमता छ भने किन एक वा दुई रन लिन मिहिनेत गर्नुपर्‍यो ।’ वैभवले बिहारबाट पहिलो श्रेणी क्रिकेट खेल्दा एक, दुई र तीन रन खुवै लिन्थे । त्यो लेभलमा उनले बाउन्ड्रीतर्फ त्यति ध्यान नदिएको उनका प्रशिक्षक ओझाले बताए । ‘बिहारबाट पहिलो श्रेणीको क्रिकेट खेल्दा उसको आक्रामक शैलीको इनिङ्स कहिले पनि देखिनँ, तर गुजरातविरुद्धको फरक रूप पाएँ,’ ओझाले भने, ‘यस्तो कलिलो उमेरमा पनि उसभित्र विशाल छक्का प्रहार गर्न क्षमता कहाँबाट आयो भन्ने पक्षमा अचम्म परेको छु ।’ 

वैभव भने पहिलो श्रेणी र आइपिएल प्लाटफर्म फरक रहेको मान्छन् । उनी भन्छन्, ‘पहिलो श्रेणीको क्रिकेटमा क्रिजमा धेरैबेरसम्म टिक्न सिकाइन्थ्यो, तर आइपिएलमा पावर चल्छ, यहाँ एक ओभरले खेल परिवर्तन हुन्छ, यसैकारण म पहिलो बललाई सकेसम्म छक्का वा नभएर चौकाका लागि प्रयास गर्छु ।’ वैभवले इशान्त शर्मा, मोहमद सिराज, वासिङटन सुन्दार तथा रासिद खानजस्ता विश्व प्रसिद्ध बलरसँगै नेट अभ्यास गर्ने मौका पाएका छन् । केही वर्षअघि एकेडेमीमा उनले यी दिग्गज बलरसँग प्रशिक्षण गरेका थिए । 

घरको छतमै प्रशिक्षण 
बिहारको समस्तीपुरको एउटा गाउँमा वैभवको बाल्यकाल बितेको थियो । उनका बुबा सञ्जीव सूर्यवंशी पनि कुनै समयमा क्लबस्तरीय क्रिकेटर थिए । क्रिकेटप्रति छोराको रुचिपछि उनले विभिन्न एकेडेमीमा राख्न कोसिस गरेका थिए । ती एकेडेमीहरूको मासिक रकम महँगो हुँदा सञ्जीवले छोरालाई त्यहाँ पठाउन सकेनन् । आफूसँग भएको ज्ञान नै उनले पाँच वर्षको छोरालाई घरको छतमै बाँडे । ‘आर्थिक अवस्थाले सुरुका दिनमा मैले छोरालाई राम्रो क्रिकेट एकेडेमीमा पठाउन सकिनँ,’ बुबा सञ्जीवले भने, ‘हामी घरको छतमै घन्टौँ ब्याटिङ प्रशिक्षण गरे ।’ क्रिकेटमै छोराको भविष्य देख्दै सञ्जीवले पटना सहरमा दैनिक प्रशिक्षण गर्न लान्थे । पटना सहरमा प्रशिक्षण लिँदा वैभवको उमेर आठ वर्ष मात्र थियो । ‘धेरैले मलाई भने, किन छोरालाई पटनासम्म प्रशिक्षण गराउन लैजाने हो,’ सञ्जीवले भने, ‘त्यसवेला हाँसेर टारे ।’ बिहारका पूर्वप्रशिक्षक रोविनसिंह वैभवको क्षमताबाट अचम्मित भएका रहेछन् । ‘जब मैले उसको स्ट्रोक हेरेँ, मलाई सामान्य लागेन, केवल आठ वर्षको उमेरमा पनि परिपक्व प्रहार थियो,’ प्रशिक्षक सिंहले भने, ‘हामी सबैले उसलाई राम्रो एकेडेमीमा पठाउने निर्णय गरौँ ।’ 

प्रशिक्षण गराउन बुबाले बेचे जग्गा 
बिहारका पूर्वप्रशिक्षक सिंहले वैभवलाई माथिल्लोस्तरको प्रशिक्षणमा पठाउनुपर्ने सल्लाह दिए । त्यसवेला वैभवका बुबा सञ्जीवलाई आर्थिक समस्या थियो । एकातिर छोरा क्रिकेटरमा कति अगाडि बढ्न सक्छन् भन्ने बुबालाई विश्वास थियो । अर्कोतिर उच्चकोटीको प्रशिक्षण गराउन आर्थिक समस्या थियो । यस्तो अवस्थामा सञ्जीवसँग एउटै मात्र विकल्प थियो, घरनजिकको एक टुक्रा जग्गा बेचेँ । ‘छोराको भविष्यका लागि हामीले एक किसिमले जुवा नै खेल्यौँ, हाम्रो भविष्यको रोजीरोटी दिने जग्गा नै बेचेर छोरालाई प्रशिक्षणमा पठायौँ,’ दुःखका दिन सम्झँदै सञ्जीवले भने, ‘जस्तो अवस्था आए पनि छोराले भविष्यमा कमाएर जग्गा किनिदिने आशा हामीसँग थियो ।’ पटनाको प्रशिक्षणमा वैभवलाई दिनको तीन समयको नास्ता उनकी आमाले बन्दोबस्त गर्थिन् । ‘वैभवलाई मात्र नभएर प्रशिक्षक तथा अन्य खेलाडीका लागि पनि खानाको व्यवस्था हाम्रो घरबाटै हुन्थ्यो,’ उनले भने । 

सिनियर खेलाडीसँग प्रशिक्षण
पटनामा प्रशिक्षण लिएको १० दिनमै वैभवलाई आफू उमेरको खेलाडीसँग प्रशिक्षण गर्दा क्षमता अभिवृद्धि नहुने देखे । त्यसपछि उनी सीधै सिनियर खेलाडीले प्रशिक्षण गरिरहेको स्थानमा पुगे । सुरुमा सिनियर र प्रशिक्षकले उनलाई रोक्न कोसिस गरेका थिए । तर, असाध्यै जिद्दी स्वभावका वैभवले सबैलाई गलत साबित गर्न सफल भए । ‘प्रशिक्षणको १० दिनभित्र वैभव सिनियर खेलाडीको क्याम्पमा पाए, हामीले उसलाई आफ्नो लेबलअनुसार प्रशिक्षण गर्नुपर्ने भनी खुबै सम्झाए पनि,’ प्रशिक्षक रोबिन सिंहले भने, ‘तर, फुच्चे केटा कहाँ मान्थे, सिनियर खेलाडीसँगै नियमित प्रशिक्षण गरी आफूलाई मजबुत बनाए ।’ वैभवको प्रशिक्षण बिहान ७ः३० बजेदेखि दिउँसो ४ बजेसम्म हुन्थ्यो । यसक्रममा उनले दैनिक चार सय ५० बल सामना गर्थे । एकेडेमीमा १२ सिनियर प्रशिक्षकले उनलाई ब्याटिङका सबै कला सिकाए । 

१३ वर्षमै रणजी ट्रफीमा मौका
सन् २०२४ मा अस्ट्रेलियाको युवा टोलीले भारत भ्रमण गरेको थियो । बिहारको यू–१९ टोलीबाट वैभवको नाम छनोट भयो । १३ वर्षको उमेरमै उनले टेस्ट राष्ट्र अस्ट्रेलियाको युवा टोलीविरुद्ध ५८ बलमै शतक प्रहार गरे । 

यो असाधारण प्रदर्शनसँगै उनी बिहारबाट रणजी ट्रफीका लागि छनोट भए । भारतको माथिल्लो श्रेणीमा क्रिकेट खेल्ने अवसर पाउँदा उनले यसको भरपुर फाइदा उठाए । रणजी ट्रफीकै प्रदर्शनका आधारमा सन् २०२४ को डिसेम्बरमा आइपिएलको अक्सन हुँदा राजस्थानले उनलाई १ करोड १० लाख भारुमा अनुबन्ध गर्‍यो । राजस्थानका कोचिङ स्टाफका मुख्य सदस्य तथा राहुल द्रविडले अक्सनमा वैभवलाई ‘लामो रेसको घोडा’ भनेका थिए । वैभवले ब्रायन लारा र गिल गेलको शैली पछ्याउने गरेको उनका पहिलो प्रशिक्षक ओझाले बताए । 

कोलकाता १४ रनले विजयी
साबिक विजेता कोलकाता नाइट राइडर्सले आइपिएलअन्तर्गत ४८औँ खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको छ । दिल्लीको मैदानमा मंगलबार पहिलो ब्याटिङ गरेको कोलकताले २० ओभरमा नौ विकेट गुमाएर दुई सय चार रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा घरेलु मैदानमा दिल्लीले नौ विकेटको क्षतिमा १९० रन जोड्दा कोलकाता १४ रनले विजयी भयो । जितसँगै कोलकताले सातौँ स्थानमा रह्यो । कोलकाताले १० खेलमा चार जित र पाँच हार सामना गरेको छ । दिल्लीले १० खेलमा १२ अंक जोडेको छ । कोलकाताको ब्याटिङमा रघुवंशीले ३२ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४४ रनको योगदान दिए । रिंकु सिंहले २५ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३६ रन बटुले । ओपनर रहमानुल्लाह जुर्वाजले १२ बलमा २६ र सुनील नारिनले १६ बलमा २७ रन जोडेका थिए । दिल्लीको ब्याटिङमा फाफ डु प्लेसिसले ४५ बलमा ६२ रनको योगदान दिए ।