१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
Invalid date format o८:२३:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पले सय दिनमा पनि रोक्न नसकेको युक्रेन युद्ध

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२३:oo
  • ट्रम्पले निर्वाचनअघि शपथ लिएको ‘पहिलो दिन’मा युद्ध समाप्त गर्ने वाचा गरेका थिए । तर, सय दिन पूरा हुँदा पनि उनले वाचा गरेको शान्ति कतै देखिँदैन ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा पुनः फर्किएको १०० दिन पूरा भयो । तर युक्रेनी नागरिकमाथि रुसी क्षेप्यास्त्रको वर्षा अझै रोकिएको छैन । ट्रम्पले निर्वाचनअघि आफू राष्ट्रपतिको शपथ लिएको ‘पहिलो दिन’मा युद्ध समाप्त गर्ने वाचा गरेका थिए । तर उनले वाचा गरेको शान्ति कतै देखिँदैन । युक्रेनमा कथित रूपमा भइरहेका शान्ति प्रयास असफल भइरहेको छ भनेर ट्रम्प प्रशासनले कहिले स्वीकार गर्ला ?

ट्रम्पका प्रारम्भिक माग स्पष्ट र सीधा थिए, लडाइँ बन्द गर र तत्काल वार्ता सुरु गर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो पहिलो कुराकानीपछि उनले घोषणा गरे कि जारी लडाइँको पूर्ण अन्त्य नजिकै छ र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि त्यो सम्भावनालाई सहर्ष स्वागत गरे ।

तथापि, त्यसवेलादेखि रुसी प्रशासन क्रेमलिनमा पुटिन र उनको सानो टोलीले ट्रम्पका अनुभवहीन वार्ताकार स्टिभ विटकफलाई जटिल सर्त र असम्भव मागकोे खाडलमा तान्न सफल भएको छ । धेरै हप्तापछि सबैभन्दा कमजोर वार्ताकारले पनि महसुस गरेको हुनुपर्छ कि युद्धविराममा सहमत हुने वा ट्रम्पको योजना वा समयतालिका स्वीकार गर्ने पुटिनको कुनै मनसाय छैन । 

फेब्रुअरी २०२२ मा आफ्नो पूर्णस्तरीय आक्रमण सुरु गरेदेखि राष्ट्रपति पुटिनले युक्रेनमाथि नियन्त्रण गर्न रुसी सैन्य शक्तिमा भर परेका छन् । उनी लगभग दुई लाख करार सेनाका साथ आक्रमणमा उत्रिए । तर, त्यसपछि छनोट परिचालन र ठुलो आर्थिक प्रोत्साहनका साथ आक्रमण बललाई लगभग ६ लाखमा विस्तार गरेका छन् । सातदेखि आठ लाखले हताहती भोग्नुपरे पनि र दुई लाखभन्दा बढीको मृत्यु भए पनि कथित शक्तिशाली रुसी सेनाले तीन वर्षअघिको तुलनामा थोरै मात्र युक्रेनी क्षेत्र (सटिक रूपमा १८.३ प्रतिशत) नियन्त्रण गर्दछ । 

त्यसैले, सैन्य हिसाबले पुटिनको युद्धमा चौतर्फी ठुलो असफलता देखिएको छ भने युक्रेनले पनि रुसलाई गलाउन सकेको छैन । पुटिन सायद अझै पनि विश्वास गर्छन् कि उनका सेनाले आफ्नो बाटो समातेर अगाडि बढ्न सक्छन् र केही सैन्य सफलता हासिल गर्न सक्छन् । यसको मतलब पुटिन अन्ततः विजय भन्न सकिने जिनिस प्राप्त गर्न रुसी सेनामा भन्दा ट्रम्पमा बढी निर्भर छन् ।

यसरी, पुटिनले ट्रम्पलाई खेलाउन आफ्नो सबै स्रोतसाधन प्रयोग गरेका छन् । सबैलाई थाहा छ कि अमेरिकी राष्ट्रपति चाप्लुसीका लागि अत्यधिक संवेदनशील छन् । पुटिनले २०२० को अमेरिकी राष्ट्रपति चुनाव ‘चोरी’ भएको (धाँधली र एकतर्फी भएको भन्ने दाबी) तर्क गर्दै त्यतिवेला ट्रम्प विजयी भएको भए युद्ध कहिल्यै नहुने दाबी गरेका छन् । त्यति मात्रै कहाँ हो र ? उनले अप्रत्यक्ष र प्रत्यक्ष रूपमा ट्रम्पको पक्षमा भित्रभित्रै हात धोएर लाएका छन् । सन् २०२४ मा ट्रम्पको हत्या प्रयासपछि उनको सुस्वास्थ्यको प्रार्थना गर्न पुटिन आफ्नो निजी च्यापल (क्रिस्चियन प्रार्थनाका लागि निर्मित भवन) गएका थिए र उपहारको रूपमा उनले क्रेमलिन दरबारका कलाकारलाई ट्रम्पको चित्र पनि बनाउन लगाएका थिए, जुन कुरालाई हामीहरूले जबर्जस्त विश्वास गर्नुपर्ने उनी चाहन्छन् ।

चाप्लुसीका अतिरिक्त रुसीहरूले ट्रम्प र विटकफको अगाडि आकर्षक व्यावसायिक सम्भावना पनि झुन्ड्याएका छन् । रियादमा अमेरिकी र रुसी वार्ताकारबिचको पहिलो भेटमा पुटिनको टोलीले अर्बौँ डलरको लगानी अवसरको सूची ल्याएको थियो, जुन ट्रम्पले युक्रेनलाई त्यागेर र रुसविरुद्धको प्रतिबन्ध हटाएमा मात्र उपलब्ध हुने अनुमान गरिएको थियो । विटकफका अनुसार पुटिनसँगको उनको पछिल्लो भेटको धेरैजसो भाग यसै विषयमा समर्पित थियो ।

दुवै रणनीतिले स्पष्ट रूपमा काम गरेको छ । पुटिनलाई आफ्नो काम थाहा छ र उनलाई आफ्नो लक्ष्यबारे पनि प्रस्टै जानकारी छ । पुटिनले इस्टर सन्डेको अवसरमा संक्षिप्त युद्धविराम घोषणा गरे । तर, केही घण्टाका लागि गरिएको उक्त युद्धविरामको कुनै औचित्य देखिएन । बरु सो अवधिमा झन् ठुला हमला भए । पुटिनले फेरि ८ मेदेखि लागू हुने गरी तीनदिने युद्धविराम घोषणा गरेका छन् । उनले किभबाट पनि यस्तै अपेक्षा गरेका छन् । तर, युद्धविरामको अवधिमा हमला नदोहोरिनेमा कुनै सुनिश्चितता छैन । उनले दण्डहीनताका साथ युक्रेनी सहरमा नागरिक निसाना (विद्यालय, अस्पताल, स्वास्थ्य सेवा केन्द्र, आवास सम्पदा, मठ र धार्मिक तीर्थहरू) मा आक्रमण जारी राखेका छन् ।

क्रेमलिनको छद्म वार्तामा दुई गुणाभन्दा बढी माग देखिन्छन् । पहिलो भनेको युक्रेनले लुहान्स्क, दोनेत्स्क, जापोरिज्झिया र खेरसनका चार क्षेत्र हस्तान्तरण गर्नु हो । विटकफले पहिले नै यो स्वीकार गरिसकेको देखिन्छ, अमेरिका अवैध रूपमा कब्जा गरिएका चारै क्षेत्रलाई रुसको भागको रूपमा मान्यता दिन तयार छ ।

तर, रुसले यी क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण गर्दैन । जापोरिज्झिया र खेरसनका क्षेत्रीय राजधानी (युद्धपूर्व दश लाखको संयुक्त जनसंख्या भएका सहरहरू)ले अझै पनि युक्रेनी झन्डा फहराउँछन् । यदि यी सहरलाई आत्मसमर्पण गराइयो भने किभको कुनै पनि सरकार टिक्न सक्दैन ।

युक्रेनले वर्तमान अग्रपंक्तिमा स्थिर द्वन्द्व स्वीकार गर्न सक्षम हुन सक्छ, तर उसले त्योभन्दा बढी मुस्किलले स्विकार्न सक्छ । दोस्रो माग युक्रेनको बाँकी भागमा सुरक्षा प्रभुत्व र नियन्त्रणको हो । पुटिन भविष्यमा कुनै पनि पश्चिमी सुरक्षा वा सैन्य उपस्थिति वा युक्रेनका लागि सहयोग रोक्न चाहन्छन् । युक्रेनका लागि भावी नेटो सदस्यताको प्रश्नमा ट्रम्प पहिले नै झुकेका छन् । उनी स्पष्ट रूपमा युक्रेनलाई दिँदै आएको अमेरिकी सहयोगमा पूर्णविराम दिने पुटिनलाई वाचा गर्न तयार छन् ।

जबसम्म युरोपेलीहरू युक्रेनलाई आर्थिक र सैन्य रूपमा सहयोग गरिरहने आफ्नो संकल्पमा दृढ रहन्छन्, पुटिन र ट्रम्प दुवैजना चाहेको कुरामा सहमत हुन सक्छन् । यसले युद्धको अग्र मोर्चामा कुनै भौतिक प्रभाव पर्नेछैन । यसरी युरोपले ट्रम्प कार्ड कायम राख्छ । यदि यसले राजनीतिक इच्छाशक्ति जुटाउन सक्छ भने यो युक्रेनको लज्जास्पद म्युनिख शैलीको विश्वासघातलाई रोक्न पूर्ण रूपमा सक्षम छ । युरोपेली नेताले स्पष्ट पार्नु पर्छ कि उनीहरूले जे भए पनि युक्रेनको रक्षा र सार्वभौमिकतालाई समर्थन गर्ने आफ्नो योजना अगाडि बढाउनेछन् ।

सिद्धान्तमा ट्रम्प आफैँले पुटिनमाथि गम्भीर दबाब दिएर र युक्रेनका लागि समर्थन बढाएर बाटो परिवर्तन गर्न सक्छन् । यदि त्यसो भयो भने उनले खोजेको युद्धविराम प्राप्त गर्न सक्छन् । अन्यथा, उनी असफल भइरहनेछन्, किनकि पुटिन र उनका साथी उनको पछाडि हाँस्छन् ।

–प्रोजेक्ट सिन्डिकेटबाट