
सप्तरीको सुरुंगा नगरपालिका–५, बनिगामा टोलको दलित बस्तीमा पाँच दिनअघि भएको कुटपिट घटना संलग्नलाई कारबाहीको माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रणेन्द्र बरालीले प्रश्न गरेका छन् । उनले जातीय ज्यादती भोग्न बाध्य भएका दलितले सुरक्षा खोज्न कहाँ जाने भन्दै प्रश्न गरेका हुन्।
बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बरालीले कुटपिट, यौन दुर्व्यवहारका घटनामा प्रहरीले समयमा उजुरी नलिने, लिएपछि दोषीलाई पक्राउ गर्न चासो नदेखाउँदा दलितहरू अप्ठयारोमा परेको बताए। मन्दिरमा पूजा, भोजभतेरको निहुँमा खानेपानीको इनारमा बन्देज लगाउनेसहित तीनजना दलितलाई निर्घात कुटपिट गरिएको बनिगामा घटनामा प्रहरीले किटानी जाहेरी दर्ता गरे पनि घटनामा संलग्न व्यक्तिहरू अझै पक्राउ नपर्दा पीडितहरूले असुरक्षा महसुस गरिहेकाले भरपर्दो सुरक्षाको प्रबन्ध गर्न माग गरे।
पुरानो रिसइबी, स्थानीय डिहबार थानको पूजा तथा भोजभतेरको विषयमा ११ वैशाख राति बनिगामा टोलको दलित बस्तीमा २५–३० जनाको समूह पसेर निर्घात कुटपिट गरेको घटनाविरुद्ध आइतबार इलाका प्रहरी कार्यालय कडरबोनामा जातीय भेद्भाव र कुटपिटसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएपछि घटनामा संलग्न व्यक्तिहरू अझै पक्राउ परेका छैनन्। कुटपिटमा घाइते भएका हरि रामका दाजु रामचन्द्र रामले दिएको किटानी जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै कडरबोनाका प्रहरी प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रायले संलग्नहरूको खोजी भइरहेको बताए।
कुटपिटमा घाइते भएका हरि, उनकी श्रीमती सुकमैनदेवी, सुगिलाल राम लहानस्थित माँ धमिनी हस्पिटलमा उपचारपछि चौथो दिन डिस्चार्ज भएका छन् । कुटपिटमा हरिको छातीमा चोट, उनकी श्रीमती सुकमैनको टाउकोसहित पिठ्युँमा चोट लागेको छ ।
स्थानीय दलितहरूका अनुसार बनिगामा गाउँको पश्चिम भागको पुछारमा रहेको आठ घर दलित बस्तीमा जातीय कारणले पटकपटक गालगलौज, कुटपिट हुँदै आएको छ । छिमेकी गाउँ कुसहातिर जाँदै गरेका दुई दलित युवामाथि भएको कुटपिट घटनाको प्रतिवाद गर्दा उल्टै गाउँमा पञ्चायती राखेर ५० हजार रुपैयाँ जरिवानासहित दुर्व्यवहार गरिएको घटनाको विषयमा कडरबोना प्रहरीमा छलफल हुँदा पीडकहरूले माफी माग्नुपरेपछि इनारमा बन्देज गरेको दलितहरूले सुनाए ।
दलित बस्तीसँगै जोडिएको पूर्वतर्फ जाने सडकको उत्तरपट्टि रहेको इनारलाई करिब नौ महिनादेखि बाँसको बारले घेरेपछि पानी पिउनसमेत अप्ठ्यारो हुँदा चन्दा उठाएर इनारकै छेउमा कल धसाएर पानीको जोहो गरिएको स्थानीय रोहित रामले गुनासो गरे।
त्यसपछि पटक-पटक दलित बस्तीमा जातीय भेद्भावजन्य व्यवहार गर्दै आएका गाउँलेहरूले १ वैशाखमा गाउँमा भएको डिहबार पूजामा समेत बस्ने नदिएको उनको आरोप छ । ‘त्यसअघि पूजाका लागि हामीसँग पनि चन्दा उठाएर पूजामा सहभागी गराइन्थ्यो,’ उनले भने ‘योपल्ट चन्दा पनि लिएनन्, पूजामा जाँदा बस्नसमेत नदिई गालीगलौज गर्दै फर्किन बाध्य बनाए ।’
करिब एक हप्ताअघि गाउँको भोजमा ६ घर दलितलाई नबोलाइएको भए पनि रामचन्द्रले बुहारी सीता भोज खाएर फर्किएपछि ‘हामीलाई मान्छे नै नगन्ने, तिमीचाहिँ किन भोज खान गएको’ भन्दै सम्झाएका थिए। त्यही निहुँमा बिहीबार राति स्थानीय दुर्गानन्द चौधरीको नेतृत्वको समूहले ‘चमारहरूलाई लखेट’ भन्दै कुुटपिट गरेको स्थानीयले बताए।