
सबैतिर राजतन्त्र उन्मूलनको लहर चलेको २० औँ शताब्दीमै केही देशमा भने हटाइएका राजा पुनः फर्काइएको इतिहास छ
विश्व २०औँ शताब्दी प्रवेश गर्दा करिब डेढ दर्जन मुलुक मात्र गणतान्त्रिक थिए । सन् १९०० मा अमेरिकी महादेशको अमेरिका (स्थापनाकालदेखि अर्थात् १७७६ देखि) युरोपका दुई मुलुक स्विट्जरल्यान्ड (१८४८ देखि), फ्रान्स (अन्तिमपटक १८७० देखि) गणतान्त्रिक थिए । सबैभन्दा धेरै गणतान्त्रिक अभ्यास गर्ने मुलुक ल्याटिन अमेरिकामा पर्थे । सो भेगका ग्वाटेमाला (१८४० देखि), हाइटी (१८५९ देखि), मेक्सिको (१८६७ देखि), ब्राजिल (१८८९), अल सल्भाडोर–होन्डुरस–निकारागुवा (१८९८), पाराग्वे (१८११), चिल्ली (१८१८), उरुग्वे (१८२८), इक्वेडोर (१८३०), पेरु (१८३९), अर्जेन्टिना (१८६१), कोलम्बिया (१८८६)मा गणतान्त्रिक सरकार थिए । यस समूहमा अफ्रिकाको एक मुलुक लाइबे्ररिया (१८४७ देखि) हुँदा एसियाका कुनै मुलुक पर्दैनथे ।
दुई विश्वयुद्ध, ठुल्ठुला क्रान्ति, औपनिवेशिकविरोधी संघर्ष, शीतयुद्ध भोगेको २०औँ शताब्दी राजतन्त्र उन्मूलनको शताब्दी पनि थियो । सय वर्षको अवधिमा युरोप र एसियाका कैयौँ शक्तिशाली ठानिएका राजवंश एकपछि अर्को धराशयी भए । परिणामस्वरूप सय वर्षअघिको अवस्था उल्टिएर राजतन्त्र भएको देशको संख्या करिब दुई दर्जनमा झरेको छ । विशेषतः राजतन्त्रको अभ्यास हुने देश, हुनत राजतन्त्र कायम रहेका सबै देशमा एकै प्रकारको शक्ति अभ्यास पाइँदैन । निरंकुश राजतन्त्रमा राजाको बोली नै शासन हुने गर्छ । यस्ता राज्य अझै पनि कायम छन् । एसिया महादेशमा साउदी अरब, ओमन, ब्रुनाई, संयुक्त अरब एमिरेट (युएई)का सदस्य अधिराज्य अफ्रिका महादेशको इस्वातिनी र युरोपमा भ्याटिकन सिटीमा निरंकुश राजतन्त्र छ । यीमध्ये भ्याटिकन सिटीमा निर्वाचक मण्डलले गर्ने मतदानबाट चुनिने धार्मिक नेता (पोप)को शासन भए पनि उनले राजाकै जस्तो शक्ति अभ्यास गर्छन् । यी मुलुकमा राज्य र सरकारमाथि राजाको पूर्ण नियन्त्रण हुन्छ । त्यसबाहेक बाँकी देशमा भने राजाको अधिकारलाई संविधान वा देशको सर्वोच्च कानुनले नै निर्दिष्ट गरेको संवैधानिक राजतन्त्रको व्यवस्था छ । यिनमा पनि एकथरी संविधानबाट अधिकार लिएर कार्यकारी अधिकार अभ्यास गर्ने र अरू नाम मात्रका सेरेमोनियल राज्य प्रमुख हुने गरी दुई अभ्यास पाइन्छन् । सबैतिर राजतन्त्र उन्मुलनको लहर चलेको २० औँ शताब्दीमै केही देशमा भने हटाइएको राजा पुन फर्काइएको इतिहास छ ।
राजतन्त्र फर्किएका देश स्पेन : सन् १९३१ मा स्पेनमा गणतन्त्र स्थापना भयो । लगत्तै गणतान्त्रिक शासनविरुद्ध राष्ट्रवादीहरूले युद्ध घोषणा गरे । सन् १९३८ मा गणतान्त्रिक पक्षलाई पराजित गर्दै जनरल फ्रान्सिस्को फ्रान्कोले फासीवादी शासन स्थापना गरे । आजीवन देशको सर्वेसर्वा भएर शासन गरेका फ्रान्कोले जीवनको उत्तराद्र्धमा भने सन् १९३१ मा अपदस्थ भएका राजा अलफोन्सो तेह्रौँका नाति हुवाँ कार्लोस प्रथमलाई उत्तराधिकारी घोषणा गरे । सोही घोषणाअनुसार हुवाँ सन् १९७५ मा राजा भए । सन् २०१४ मा एकपछि अर्को विवादमा फसेर अलोकप्रियता बढ्दै गएपछि उनले वर्तमान राजा फिलिप छैटौँका लागि सत्ता त्यागे ।
बेलायत : सन् १६४२ मा इंग्ल्यान्डमा राजा र संसद्बिच गृहयुद्ध भड्कियो । राजा चार्ल्स प्रथमले संसद्को सुझावविरुद्ध गएर आयरल्यान्डको विद्रोह दबाउन सेना स्थापना गरेपछि गृहयुद्धको बिउ रोपिएको थियो । संसद् र राजा पक्षधर सेनाबिच सन् १६४० को दशकभरि गृहयुद्ध चल्यो । गृहयुद्धमा ओलिभर क्रोमबेल नेतृत्वको संसद्वादी शक्ति विजयी भयो । राजा चार्ल्स प्रथमलाई मृत्युदण्ड दिएर नयाँ गणतान्त्रिक व्यवस्था सुरु भयो । तर, सन् १६३८ मा क्रोमबेलको निधनपछि कुशल नेतृत्वको अभावमा पहिलेको राजतन्त्रवादी शक्ति बलियो भए र चार्ल्स प्रथमका छोरा चार्ल्स द्वितीयलाई पुनः राजा बनाए ।
कम्बोडिया : कम्बोडियाको राजतन्त्र दुई शताब्दी पुरानो भएको विश्वास गरिन्छ । देश फ्रान्सको उपनिवेश (सन् १८५३ देखि १९५३ बिचमा) हुँदासमेत नढलेको राजतन्त्रलाई सन् १९७० मा एक कुमार्फत हटाइयो । तथापि, यो धेरै लामो समय रहेन । अढाइ दशकको ठुलो अस्थिरतापछि सन् १९९३ मा पुनः राजतन्त्र फर्कियो । कम्बोडियाको राजतन्त्रको पतन र पुनरोत्थान दुवैमा नोरोदम सिंहानुकको महत्वपूर्ण भूमिका रह्यो ।
नोरोदम सिंहानुक खासमा फान्सेली उपनिवेशकालमै राजा बनिसकेका थिए । हजुरबुबा सिसोवाथ मोनिभोङको मृत्युपछि उनी सन् १९४१ मा राजा बनेका थिए । महिला महारानी हुने व्यवस्था नभएकाले आमा सिसोवाथ कोसामाकको पालो मिचेर उनी राजा भएका थिए । सिंहानुकमा सक्रिय राजनीतिको ठुलो भोक थियो । त्यसैले सन् १९५५ मा देश फ्रान्सबाट स्वतन्त्र भएर दुई वर्षमा पिता नोरोदम सुरामारितलाई शक्ति सुम्पिएर आफू प्रत्यक्ष राजनीतिमा होमिए । सो वर्ष भएको निर्वाचनमा उनले खोलेको दल साङकुमले निर्वाचन जित्यो र उनी प्रधानमन्त्री भए । उनले कठोर एकदलीय शासन चलाए । पाँच वर्षपछि पिताको निधन भयो । त्यसपछि उनी राजगद्दीमा फर्किएनन् । बरु आमालाई महारानी बनाएर आफू ‘राज्य प्रमुख’मा आसीन भए । आमा नाम मात्रकी महारानी थिइन् । सम्पूर्ण शक्ति उनकै हातमा थियो ।
राजनीतिज्ञका रूपमा सिंहानुक निकै चतुर खेलाडी थिए । उनी शाही परिवारका व्यक्ति भए पनि आफूलाई समाजवादी भन्थे । त्यस्तै राष्ट्रवादी भाषामार्फत दक्षिणपन्थीलाई रिझाएका थिए । शीतयुद्धकालीन समयमा आफू कुनै समूहमा नरहेको बताउँथे । तर, भित्रभित्रै छिमेकी कम्युनिस्ट (उत्तर) भियतनामसँगको गहिरो सम्बन्ध राखेका थिए । उनले केही राहतको बदलामा देशभित्र उत्तरी भियतनामका सैन्य बलसमेत सक्रिय हुने छुट दिएका थिए । यो नीतिप्रति देशभित्र चर्को असन्तुष्टि थियो । सन् १९६९ मा प्रधानमन्त्रीका रूपमा दक्षिणपन्थी लोन नोल आएपछि उनले भियतनामी उपस्थितिका लागि सिंहानुकको भूमिकालाई दोष दिँदै सिंहानुकविरुद्ध कुको नेतृत्व गरे । लोन नोलको कुमा सिंहानुकको राज्य प्रमुखको पद मात्र खोखिएन, सिसोवाथ कोसामाकसमेत महारानीबाट हटाइइन् । देश गणतन्त्र बन्यो । यस कुमा अमेरिकाको सहयोग रहेको बताइन्छ । शीतयुद्धको तत्कालीन विश्वमा सिंहानुकले आफूलाई तटस्थ बनाए पनि उनी कम्युनिस्ट ध्रुव नजिक थिए । कुपछि कम्बोडियाले आफूलाई अमेरिकाको नजिक घोषणा गरेबाट पनि यसको केही संकेत भेटिन्छ ।
सन् १९७० को कुपछि देशमा पहिलेदेखि सुरु भएको खमेर रुज विद्रोह झनै चर्कियो । उत्तर भियतनाम फौजको सहयोगले कुनै समय सानो कम्युनिस्ट गुरिल्ला दस्ता खमेर रुजले शक्ति बढाउँदै लग्यो । कम्युनिस्ट र गणतान्त्रिक सरकारबिचको गृहयुद्धमा सिंहानुकले कम्युनिस्टको पक्ष लिए । यहाँसम्म कि सन् १९७५ मा खमेर रुजले शासन हत्याएपछि एक वर्षसम्म उनी राज्य प्रमुख बनाइएका थिए । तर, एक वर्षमै सम्बन्ध बिग्रिएपछि उनी नजरबन्दमा राखिए ।
खमेर रुजको पूर्व राजासँग मात्र होइन, उनीहरूलाई सत्तामा ल्याउन सघाएका छिमेकी भियतनामसँग पनि सम्बन्ध बिग्रिएको थियो । सम्बन्ध निकै तनावपूर्ण भएपछि भियनामी फौजले आक्रमण गरेर खमेर रुजलाई सत्ताच्युत गरे । खमेर रुज शासन चार वर्षभित्रै ढल्यो । तिनको स्थानमा भियतनाम समर्थित कम्युनिस्ट सत्तामा आए । त्यसपछि नजरबन्दबाट छुटेका सिंहानुक चीन निर्वासन गए ।
त्यहीँबाट उनी भियतनामले स्थपना गरेको सरकारविरुद्ध प्रतिरोध अभियानले गठन गरेको निर्वासित सरकार प्रमुख भए । संयुक्त राष्ट्र संघले उनको सरकारलाई कम्बोडियाको आधिकारिक सरकारको मान्यता दियो । निर्वासित सरकारको आफ्नै प्रतिरोध फौज थियो, जसले भियतनाम समर्थित सरकारविरुद्ध विद्रोह गरिरहेको थियो । सन् १९८० को दशकको अन्त्यदेखि द्वन्द्व अन्त्यका लागि वार्ताले तीव्रता पाउन थाल्यो । यही वार्ताको शृंखलास्वरूप सन् १९८९ देखि चारवर्षे संक्रमणकालीन सरकार गठन भयो । हुन सेन नेतृत्वको यस सरकारले भियतनामलाई कम्युनिस्ट शासनबाट संसदीय प्रजातन्त्रमा लाने काम गर्यो । नरोद्दम सिंहानुकको सक्रिय सहभागितामा भएको यस कामले पूर्णता पाएपछि सन् १९९३ मा देशमा राजतन्त्र पुनः फर्काइयो । नरोद्दम सिंहानुक पुनः राजा भए । करिब नौ वर्ष राजा भएपछि उनले छोरा नोरोदम सिहामोनीका लागि गद्दी त्याग गरे ।
पटकपटक राजतन्त्र फर्किएको देश
फ्रान्समा पटक–पटक राजतन्त्र हटाइएको र फर्काइएको इतिहास छ । फ्रान्सेली क्रान्तिपछि सन् १७९२ मा पहिलोपटक फ्रान्समा गणतन्त्र स्थापना भएको थियो । त्यहाँ गणतन्त्र स्थापनापछि पूर्वराजा रहेका लुई सोह्रौँ र उनकी पत्नी म्यारी एन्ट्वानेटलाई गिलटिनले घाँटी काटेर मृत्युदण्ड दिइएको थियो । तर, गणतन्त्र स्थापनाको १२ वर्षपछि देशभित्र अत्यधिक शक्ति केन्द्रीकृत गरेका सैन्य अधिकृत नेपोलियनले आफूलाई सम्राट् घोषणा गरे ।
शासनकालभरि नेपोलियन विभिन्न युद्ध अभियानमा सरिक रहे । सन् १८१३–१४ को छैटौँ गठबन्धनसँग युद्धमा पराजित भएपछि नेपोलियनलाई सत्ताच्युत गरियो । नेपोलियनले हराएका युरोपेली शासकले पुरानो बरबन वंशका लुई अठारौँलाई राजा बनाए । उनका उत्तराधिकारी चार्ल्स दशमविरुद्ध सन् १८३० को विद्रोह भयो । विद्रोहीले चार्ल्स दशमलाई हटाएर लुई फिलिपलाई संवैधानिक रूपमा राखे । तर, सन् १८४८ मा युरोपव्यापी क्रान्तिमा क्रममा उनी पनि फालिए । फ्रान्समा दोस्रो पटक गणतन्त्र आयो ।
तर, दोस्रो गणतन्त्र स्थापनापछिको पहिलो चुनावबाट राष्ट्रपति चुनिएका नेपोलियनका भतिजा नेपोलियन तृतीयले सो व्यवस्था तुहाइदिए । उनले चारवर्षे कार्यकाल सकिएपछि पद छाड्नुको सट्टा आफैँलाई सम्राट् घोषित गरे । यसपटक राजतन्त्र १९ वर्षसम्म रह्यो । नेपोलियन तृतीयको पतनपछि फ्रान्समा पुनः गणतन्त्र स्थापना भयो । त्यसयता राष्ट्रपतिका अधिकार थपघट गर्दै गणतन्त्र निरन्तर कायम छ ।
(एजेन्सीको सहयोगमा)