१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
२o८२ बैशाख १२ शुक्रबार १२:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रादेशिक अस्पतालमा तालाबन्दी गरेलगत्तै खुलायो प्रहरीले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार १२:३o:oo

तीन दिनको अल्टिमेटमसहित अस्पताल प्रशासनलाई बुझाएको माग सम्बोधनका लागि उपेक्षा गरेको भन्दै सिराहाको जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान गरिएको तालाबन्दी तत्काल प्रहरीले खुलाएको छ ।  स्थानीय युवाहरूको समूहले ८ वैशाखमा बुझाएको मागको विषयमा अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै प्रशासन खुल्नुअगावै अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादव र मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुनीलप्रसाद कुशवाहको कार्यकक्षमा गरेको तालाबन्दी प्रहरीले खुलाएको हो ।

सिराहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अस्पताल सुधारसम्बन्धी युवाहरूले बुझाएको मागको विषयमा अस्पताल प्रशासन र युवाहरूसमेतको सहभागितामा बिहीबार छलफल गरी अस्पताल प्रशासन र विकास समितिले तत्काल पूरा गर्न सकिने, दीर्घकालीन रूपले गर्न सकिने र पूरा गर्न नसकिनेमा वर्गीकरण गरी सेवा प्रवाह प्रभावकारी बनाउन सहमति भएको जानकारी दिए । ‘त्यसरी वर्गीकरण गरिएको मागबारे पुनः आगामी सोमबार (१५ वैशाख) छलफल गर्ने योजना थियो,’ उनले भने, ‘सहमति नै उल्लंघन गर्दै तालाबन्दी गरिएपछि खुलाइएको छ ।’  

अस्पताल विकास समितिका अध्यक्ष यादवले अस्पतालको स्रोत–साधन, जनशक्तिको अधिकतम परिचालन गरी सेवा प्रवाह प्रभावकारी बनाउने प्रयास गरिरहेको बताए । ‘अस्पताल प्रशासन र समितिको अधिकार क्षेत्रभन्दा बाहिरका मागहरू प्रदेश वा संघीय सरकारले मात्र सम्बोधन गर्न सक्छ,’ उनले भने, ‘सेवा सुधारको नाममा अस्पतालमा प्रवेश गरी स्वास्थ्यकर्मी, कर्मचारीलाई नै अपशब्द प्रयोग गर्ने, धम्क्याउने भइरहेको छ, त्यो तत्काल बन्द हुनुपर्छ ।’ स्थानीय प्रशासनसँग भएको सहमतिबमोजिम अर्को छलफलमा बस्दा तत्काल, दीर्घकालमा गर्न सकिने काम र आफूहरूको अधिकार क्षेत्रबाहिरका मागहरूको वर्गीकरण गरिरहेको उनले बताए । 

यस्ता छन् माग 
स्थानीय युवाहरूले अस्पतालको सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र स्टक विवरण सार्वजनिक गरिनुपर्ने, पछिल्लो तीन आर्थिक वर्षमा अस्पतालबाट खरिद गरिएका औषधिहरूको हिसाब, बिरामीलाई वितरण भएको औषधिको विवरण, म्याद सकिएका औषधि, खरिद गरिएका ल्याबका सामानहरूको हिसाब विवरण सार्वजनिक गर्न माग गरेका छन् । 

त्यस्तै, आमा सुरक्षा कार्यक्रम, एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)मार्फत सेवा लिएका बिरामीहरूको विवरण र भएको खर्च, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको नामावली र नियुक्तिसँग सम्बन्धित कागजात, अस्पतालका विभिन्न उपकरण, सटर, झ्याल, ढोकाजस्ता सामानहरू, बिरामीको पुर्जा काट्ने काउन्टर र फार्मेसी काउन्टरबाट रकमको हिसाब सार्वजनिक गरिनुपर्ने माग गरिएको छ । 

अस्पतालबाट वितरण गरिने निःशुल्क औषधि र शुल्क लाग्ने औषधिहरूको विवरण, त्यसका लागि भएको खर्चको तीन वर्षको बैंक स्टेटमेन्टसहित कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको तलबभत्ता हरेक महिनादिने व्यवस्था, अस्पतालमा कार्यरत हरेक कर्मचारीको ड्रेस कोडको व्यवस्था, सरसफाइ तथा सम्पूर्ण कर्मचारीको नामावली र समय–तालिकासहित सूचनापाटीमा टाँस, विद्युत् तथा ब्लड बैंकको व्यवस्थापन, अस्पतालको स्तरीकरणको पारामिटर सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । 

मेसु र अध्यक्ष हरेक दिन कार्यालयमा बस्ने व्यवस्था, हरेक महिनामा उपचार सेवा लिएका, रेफर गरिएका बिरामीको विवरणसहित पुर्जा काट्ने काउन्टर, औषधि वितरण, शल्यक्रिया, उपचारको क्रममा मृत्यु भएका, ओपिडीमा जाँच गराएका बिरामीको विवरण सूचनापाटीमार्फत सार्वजनिक गरिनुपर्ने उल्लेख रहेको मागपत्रमा अस्पतालको शीर्षकबमोजिमको आम्दानी र खर्च विवरणको पारदर्शिता तथा अस्पतालमा दरबन्दी रहेका कर्मचारीहरूको काज फिर्ताको माग गरिएको छ ।