१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२१:oo
Read Time : > 2 मिनेट
समाचार

सत्ता र प्रवृत्तिप्रति नागरिक समाजको प्रश्न, हस्तक्षेपको आह्वान 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२१:oo

 नागरिक समाजका अगुवाहरूले शासनसत्तामा रहेका नेताको कार्यशैली र प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएका छन् । उनीहरूका अनुसार राजनीतिक नेतृत्वले कुशासन र भ्रष्टाचारलाई बल पुग्ने काम गर्दा यसले आमनागरिकमा असन्तुष्टि बढाउँदै लगेको छ र यसले लोकतान्त्रिक व्यवस्थामै गम्भीर चुनौती पैदा गरेको छ । 

राजनीतिक अपारदर्शिता, सत्ताकेन्द्रित राजनीति तथा जनताको अधिकार र आकांक्षा बेवास्ता गरिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले राजधानीमा बुधबार आयोजना गरेको कार्यक्रममा ०६२-६३ को जनआन्दोलनमा अग्रणी भूमिका खेलेका अगुवाहरूले सशक्त नागरिक समाजको भूमिकाले लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुर्‍याउने पनि बताए । लोकतन्त्रको रक्षा गर्न अब नागरिक समाज स्वयंले हस्तक्षेपकारी भूमिका लिनुपर्ने वेला आएको उनीहरूको भनाइ छ । 

प्रा. कृष्ण खनालले अहिलेका पार्टी र नेताप्रति नागरिकले सोच्नुपर्ने वेला आएको भन्दै नागरिक अगुवा एजेन्डासहित अगाडि आउनुपर्ने आवश्यकता औँल्याए। खनालले भने, ‘०६२ को नागरिक आन्दोलनको वेला अहिलेका नेतृत्वले काम गर्लान् ? भन्ने लागेको थियो । अहिले पुष्टि भयो । हामीले जसलाई फाल्यौँ, पात्र फेरियो, तर प्रवृत्ति फेरिएन ।’ उनका अनुसार प्रमुख दलहरू कांग्रेस र एमालेमा केही नयाँ अनुहार देखिए पनि तिनप्रति विश्वास गुम्दै गएको छ । ‘अहिलेको नेतृत्व काम लाग्दैन, फाल्नैपर्छ । केही दिनमा यो सरकार जान्छ, फेरि पनि आउने उस्तै हो । खुसी हुनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘अहिलेका पार्टी निकृष्ट स्वार्थको गठजोर मात्रै भए ।’ चुनावमा जाँदा अपेक्षा गरेकोभन्दा कम मत आउँदा नेतृत्वले छाड्ने अवस्था नआउँदासम्म लोकतन्त्र बलियो नबन्ने उनले जिकिर गरे । 

मानव अधिकारकर्मी कृष्ण पहाडीले व्यवस्थाको विकल्प खोज्न नसकिने भन्दै लोकतन्त्र बचाउन नागरिक अगुवाको हस्तक्षेप जरुरी रहेको बताए । संविधान संशोधन गर्दै सुशासन कायम गर्न गणतन्त्र पक्षधरको सर्वदलीय सरकार बनाएर जान सकिने विकल्प उनले सुझाए । ‘हामी व्यवस्थाको विकल्प खोज्न सक्दैनौँ । सरकार नैतिक रूपमा पतन भइसक्यो । जनताले अहिलेका शीर्ष नेतालाई अस्वीकार गरिसके । हामीले आत्मसमर्पण गर्दा अपराधी र अराजकताले स्पेस लिए । लोकतन्त्र बचाउन नागरिक अगुवाको हस्तक्षेप जरुरी भइसक्यो,’ उनले भने । 

कवि अर्जुन पराजुलीले नागरिक आफैँ सच्चिएर शासकलाई सबक सिकाउनुपर्ने आवश्यकता औँल्याए । ‘अवस्था परिवर्तन गर्ने भए आफैँबाट सुरु गरौँ । गणतन्त्र सिध्याउन खोज्ने यिनै दलहरू हुन् । अहिले व्यवस्था जोगाउने कि नेता भन्ने स्थिति छ,’ उनले भने, ‘नेता फाल्न सके व्यवस्था जोगिन्छ, नत्र जोगिन्न । त्यसवेला एउटा राजा थिए, अहिले धेरै राजा छन् । अहिले इमानदार र राम्रो काम गर्नेहरू राज्यको नजरमा अपराधी बन्नुपरेको छ ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजय मिश्रले राज्य सञ्चालकको व्यवहारले व्यवस्थाविरोधीलाई फाइदा पुगेको औँल्याए । ‘राज्य सञ्चालकको व्यवहारले व्यवस्थाविरोधी गतिविधि बढेको देखिन्छ । नेतृत्वले कार्यशैली बदल्नुपर्छ र नागरिक समाज जागरुक हुनुपर्छ,’ उनले भने ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले नेताको प्रवृत्ति बदल्नुपर्नेमा जोड दिए । ‘व्यवस्था परिवर्तन मात्र भएर नहुने रहेछ, राजनीतिक नेतृत्वको प्रवृत्तिलाई पनि बदल्नुपर्ने रहेछ,’ उनले भने, ‘नेताको प्रवृत्ति परिवर्तन गर्न केही गरौँ । सरकार उदासीन र गैरजिम्मेवार छ । अहिलेको व्यवस्थामाथि खतरा राजनीतिक नेतृत्वको प्रवृत्तिबाटै छ । नेताको डिफेन्स गर्न सकिने अवस्था अहिले छैन । विकल्पबारे सोच्ने वेला आएको छ ।’

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले देशको अवस्थाले पीडाबोध भएको बताए । सरकारले सुशासन दिन नसक्दा जनतामा निराशा र असन्तुष्टि देखिएको उनले औँल्याए। ‘अहिले यति धेरै निराशाजन्य अवस्था छ । कोही सन्तुष्ट छैन । राज्य सञ्चालन गर्नेले सुशासन दिन सकेनन् । सरकारले गरेको कुशासन, भ्रष्टाचारविरुद्ध हामीले नबोले कसले बोल्छ ?’ उनले भने ।

देउडा गायक नन्दकृष्ण जोशीले देशको अवस्था हेर्दा गीत गाउने उत्साह नै नभएको बताए । व्यवस्थाको विरोधमा नभई नेतातन्त्रको विरुद्धमा सडकमा उत्रिनुपर्ने अवस्था आएको उनले बताए । ‘नेताका मन रैछन् काला, लुगा मात्रै सेता । नेतालाई अझै पद चाहिएको छ । जनता र देशबारे उनीहरूलाई कुनै चिन्ता छैन । लोकतान्त्रिक गणतन्त्रका विरुद्ध होइन, नेतातन्त्रको विरोधमा आन्दोलनमा जाऔँ ।’