
बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । बिरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक युनिट रगतसमेत दिन नसकेको जनाइएको छ ।
केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । ‘केन्द्रमा एक युनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ,’ केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने। उनका अनुसार रगतका लागि बिहीबार बिहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ ।
रगतको मुख्य बैंकका रूपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए । रेडक्रसले सात सय युनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ ।
जिल्लामा नियमित रूपमा रक्तदाता नहुनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाव हुन थालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको संख्या बढ्न थालेपछि रगत अभाव हुन थालेको केन्द्रले जनाएको हो। रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ ।
केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाइ भइरहेको छ । ‘कहिलेकाहीँ सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ,’ उनले भने। उनका अनुसार केन्द्रमा ‘ए पजिटिभ’, ‘बी–पजिटिभ’, ‘एबी–पजिटिभ’ र ‘ओ–पजिटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुन थालेपछि बिरामीहरू समस्यामा परेका छन्।
काभ्रेमा रगत अभाव भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौंबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहे पनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताए ।
जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् । जिल्लाक सबै अस्पतालमा सामान्यदेखि विशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यकता पर्ने ग्रुपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाई समेत समस्या हुने गरेको पाइएको छ ।
काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुंगा, सोलुखुम्बु, उदयपुरसँगै मधेश र भित्री मधेशका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो ।