१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
२o८२ बैशाख ११ बिहीबार १५:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्ला साक्षर जिल्ला घोषणा हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १५:oo:oo

आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ । यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६.०४ प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।

जिल्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ ९ गते साक्षर जिल्ला घाेषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाइ समितिले जनाएको छ । आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र सर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाइएको छ ।

जिल्लामा १५ देखि ६० उमेर समूहका ३५ हजार ३५४ जनसंख्यामध्ये ३३ हजार ९५४ अर्थात् ९६.०४ प्रतिशत साक्षर भएपछि घोषणाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख योगेश आलेमगरले बताए ।  

उनका अनुसार नाम्खाका ९६.१६, सिमकोटका ९५.६, खार्पुनाथका ९५.५, सर्केगाडका ९५.७४, चङ्खेलीका ९५.२४, अदानचुलीका ९५.२८ र ताँजाकोट गाउँपालिकाका ९८.२८ प्रतिशत नागरिक साक्षर भएका छन् । 

साक्षर नेपाल घोषणा अभियान– २०७६ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख शर्माले जानकारी दिए । लामो प्रयासपछि जिल्ला साक्षर घोषणा हुन लागेकामा खुसी व्यक्त गर्दै उनले यसमा सबैको अनिवार्य सहयोगको आवश्यकता औँल्याए । साक्षर जिल्ला घोषणाका लागि यहाँस्थित सामाजिक विकास कार्यालयले आर्थिक सहयोग गर्ने कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले जानकारी दिए। 

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्द, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख प्रशासकीय अधिकृत वर्ष फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावतलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।