१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
एजेन्सी नयाँ दिल्ली
Invalid date format ११:११:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

कस्मिर आक्रमणपछि भारतको कडा प्रतिक्रिया : पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँ दिल्ली
नयाँ पत्रिका
Invalid date format ११:११:oo

भारतले जम्मु–कस्मिरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले ‘सीमा–पार आतंकवाद’लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो।

विदेशसचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको ‘इन्डस जलसम्झौता’ तत्काल  स्थगित गर्ने निर्णय गरेको छ। उनले भने, ‘जबसम्म पाकिस्तानले सीमा–पार आतंकवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ।’

इन्डस जलसम्झौताले भारत र पाकिस्तानलाई तीन–तीनवटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो। सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो।

साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ। यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन छुट दिइएको छ। यो सीमानाका प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबिच हुने परेडले दुई देशबिचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ।

भारतले थप रूपमा नयाँदिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। यस्तै, भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ। कस्मिरको मुस्लिम बहुल क्षेत्रमा मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो। घटनाको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन। सन् १९८९ यता विद्रोहीहरूले कस्मिरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन्।

भारत र पाकिस्तान दुवैले कस्मिर क्षेत्रमा पूर्ण दाबी गर्दै आएका छन्, जसमा पाकिस्तान सानो भागमा नियन्त्रणमा छ। इन्डस नदी एसियाकै सबैभन्दा लामो नदीहरूमध्ये एक हो । यस घटनासँगै भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।(रासस/एएफपी)