
प्रधानन्यायाधीशले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको भनी समाचार प्रकाशित गर्ने अनलाइनमाथि अवहेलना मुद्दामा कारबाही अघि बढेको छ। सर्वोच्च अदालतले मंगलबार कारबाही सुरु गरेकोमा बुधबार आदेश आएको हो।
सर्वोच्चले समाचार हटाउनसमेत आदेश दिएको छ। ‘देशको प्रधानन्यायाधीशलाई जोडेर सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको विचाराधीन मुद्दाको विषयमा आपत्तिजनक र आधारहीन टिप्पणी गर्दै प्रकाशित उक्त समाचार प्रथम दृष्टिमा नै न्याय व्यवस्थाप्रति सर्वासाधारणमा भ्रम सिर्जना गर्न सक्ने देखिँदा उक्त समाचार तत्काल नेपाली पेन नामक पोर्टलबाट हटाउनू,’ आदेशमा छ।
नेपाली पेन नामक अनलाइनले ८ वैशाखमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको तथा अध्यादेशमार्फत भएका ५२ संवैधानिक नियुक्तिहरू खारेज गरी खिलराज रेग्मी जसरी राष्ट्रप्रमुख बन्न चाहेको दाबीसहित समाचार प्रकाशित गरेको थियो। प्रधानन्यायाधीशले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर व्यवस्था परिवर्तन गर्न चाहेको दाबी समाचारमा थियो।
यसै विषयमा सर्वोच्च अदालतमा कार्यरत नायब सुब्बा कमला रेग्मी र कम्प्युटर अधिकृत रमेश बजगाइँको निवेदनमाथि सर्वोच्चको संयुक्त इजलासले आदेश दिएको हो। निवेदनमा नेपाली पेन नामक अनलाइनसमेतलाई विपक्षी बनाइएको छ। संवैधानिक इजलासमा विचाराधीन संवैधानिक नियुक्तिका मुद्दालाई प्रभावित पार्ने बदनियत र न्यायसम्पादनको कार्यमा अवरोधसमेत पुर्याउने उद्देश्यले समाचार प्रकाशन गरी सिंगो न्यायपालिकाको अवहेलना गरेको निवेदनमा उल्लेख छ।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले गरेको आदेशमा उक्त मिडियाका प्रधानसम्पादक डा. दीपेश केसी र कार्यकारी सम्पादक सचिना बानियाँलाई ७ दिनभित्र आफूसँग भएको प्रमाणसहित बयानका लागि उपस्थित हुन भनिएको छ। ‘यो आदेशको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी नेपाल प्रहरीको साइबर ब्युरोको सहयोगसमेत लिई यसै अदालतमा कार्यरत तामेलदारले तीन दिनभित्र तामेल गराई उपस्थित भए वा अवधि नाघेपछि पेस गर्नू,’ आदेशमा छ।