
बागमती प्रदेशको राजधानी हेटौँडामा २० वैशाखमा चौथो मिस्टर मकवानपुर–०८२ हुने भएको छ । मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर शारीरिक सुगठन प्रतियोगिता हुने संघका अध्यक्ष राजेश भेटवालले जानकारी दिए ।
मिस्टर मकवानपुरसँगै बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीप, दोस्रो मिस्टर मकवानपुर भेट्रान्स र प्रथम मेन्स फिजिक्स च्याम्पियनसीप मकवानपुरसमेत आयोजना गरिने अध्यक्ष भेटवालले बताए ।
प्रतियोगिता हेटौँडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स सिनेमाघरमा हुनेछ । मिस्टर मकवानपुरको विजेताले एक लाख ३५ हजार ५५५ रुपैयाँ र दोस्रो हुनेले ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुनेले ४१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।
अध्यक्ष भेटवालका अनुसार प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगी मकवानपुरको स्थायी बासिन्दा हुनुपर्ने पनि उनले जानकारी दिए ।
यस्तै, बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीपको विजेताले ३३ हजार ३३३ रुपैयाँ, दोस्रो हुनेले २६ हजार ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो मिस्टर भेट्रान्सतर्फ प्रथम हुनेले ३३ हजार ३३३, द्वितीय हुनेले २६ हजार ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् ।
मेन्स फिजिक्स च्याम्पियनसीपको विजेताले ३३ हजार ३३३ रुपैयाँ, दोस्रो हुनेले २६ हजार ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष भेटबालले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिका, हेटौँडा स्कुल अफ म्यानेजमेन्ट र जिल्लाका विभिन्न स्थानीय तहबाट आर्थिक सहयोग प्राप्त हुने प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक सुनिल लोप्चनले जानकारी दिए ।