Skip This
केपी ओलीविनाको एमाले खोज्नेको मनसाय ठिक  छैन : प्रधानमन्त्री
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १० बुधबार o८:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

केपी ओलीविनाको एमाले खोज्नेको मनसाय ठिक  छैन : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार o८:o७:oo

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविनाको एमाले खोज्नेहरूको मनसाय ठीक नभएकाले तत्काल नेतृत्व हस्तान्तरणको सम्भावना नभएको सन्देश दिएका छन् । पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र हमला भइरहेकै वेला गलत मनसाय भएकाले ओलीविनाको एमाले भए ठिक जसरी प्रचार गरिहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६औँ वर्षगाँठका अवसरमा मंगलबार उनले त्यस्तो सन्देश दिएका हुन् । 

‘कतिपयलाई मेरो उमेरको अनि कतिपयलाई स्वास्थ्यको चिन्ता छ । पोहोरपरार बिरामी थिएँ, अहिले त बिरामीसिरामी पनि छैन । मलाई बुढो देख्न मन छ भने २०–२५ वर्ष पर्खिनुस् न बाबा । बुढो नभई त मान्छे रहनै सक्दैन,’ ओलीले भने, ‘किन हतार ? हतार गरेर हुँदैन । जबसम्म सक्छु, तबसम्म गर्छु । आश्चर्य लाग्छ, के कारणले हो त्यो दुस्मनी ?’

उनले आफू र एमालेविरुद्ध ठुलो हमला भइरहेको भन्दै सचेत बनेर प्रतिवाद गर्न नेता–कार्यकर्तालाई सुझाए । ‘कुखुराको चल्लाहरूले सानो फट्यांग्रो पाउँदा एउटा चल्लाले ट्याप्प समातेर जब कुद्छ खाना आँट्यो भनेर अरू सबै त्यसकै पछि कुद्छन् । दुनियाँले यत्रो हमला गरेको छ, केपी ओलीविनाको एमाले खोजेको छ । किन खोजेको होला केपी ओलीविनाको एमाले ?’ उनले भने, ‘तिनको मनसाय राम्रो भएको भए त म सर्लक्क छोड्दिहाल्थेँ । केपी ओलीविनाको एमाले हेरौँला । मिसन ०८४ मा हामी झन् बलियो बनेर आउनेछौँ ।’ उनले राष्ट्रियता, राष्ट्रिय हित र जनजीविकाको सवालमा देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेकै कारण चारैतिरबाट हमला भइरहेको आरोप पनि लगाए । 

कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको उनको भनाइ छ । उनले त्यस्तो हल्लाका पछि नकुद्न नेता–कार्यकर्तालाई आग्रह गरे । जनचाहनाअनुसार अगाडि बढ्ने भन्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले वक्तव्यबाजी गर्दै हिँडेकाप्रति व्यंग्यसमेत गरे । 

६ कम्युनिस्ट योद्धालाई सम्मान 
एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याएबापत सातजना नेतालाई सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) लाई कम्युनिस्ट योद्धा सम्मान प्रदान गरेका हुन् ।

कम्युनिस्ट एकतामा जोड
माओवादी र एकीकृत समाजवादीका नेताहरूले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको आवश्यकता भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना दिवसका अवसरमा मंगलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा माओवादी, एकीकृत समाजवादी र नेकपाका नेताहरूले एकतामा जोड दिएका हुन् ।

माओवादी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार, सिद्धान्तका आधारमा एकता चाहेको स्पष्ट पारे । कम्युनिस्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै उनले कम्युनिस्ट आन्दोलनले विभाजन, घात–प्रतिघात र बलिदानबिच यात्रा तय गरेको स्मरण गरे । ‘आजको आवश्यकता आन्दोलनलाई फेरि एकताबद्ध गर्नु हो । हामी विचार, सिद्धान्त र सच्चा कम्युनिस्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ,’ उनले भने, ‘जनतामाझ पुगेर आफ्ना कमजोरी सच्याउने प्रक्रियामा छौँ ।’ लेनिनको जन्मजयन्तीकै दिन नेकपाको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषयसमेत भएको उनले बताए । ‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिस्ट आन्दोलनका लागि गर्वको विषय हो,’ उनले भने ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि कम्युनिस्ट एकतामा जोड दिएका छन् । एकीकृत समाजवादीले नेकपा स्थापना दिवसका अवसरमा नयाँ बानेश्वरमा मंगलबार आयोजना गरेको कार्यक्रममा खनालले भने, ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी हुँदैन । अहिले नै एकता सम्भव नभए पनि प्रयत्न गर्दै जानुपर्छ ।’