
महाभारतको युद्ध चलिरहेको थियो । भीष्म अर्जुनको वाणबाट घाइते भएर सरशड्ढयामा सुतिरहेका थिए । हरेक दिन कौरव र पाण्डवका फरक–फरक समूह उनलाई भेट्न गइरहन्थे ।
एक दिन पाँचै भाइ पाण्डव र द्रौपदी भीष्मको चारैतिर बसेका थिए । भीष्म उनीहरूलाई उपदेश दिइरहेका थिए । सबै श्रद्धापूर्वक उनको उपदेश सुनिरहेका थिए । अचानक द्रौपदी खित्का छाडेर हाँस्न थालिन् । उनको यस्तो कार्यबाट भीष्म निकै आहत भए । उनले उपदेश दिने कार्य रोके । पाँचै भाइ पाण्डव पनि द्रौपदीको यस्तो हर्कतबाट आश्चर्यचकित भए । केही बेरपछि भीष्मले द्रौपदीलाई सम्बोधन गर्दै भने– पुत्री, तिमी एक सम्भ्रान्त कुलकी छोरी र त्यस्तै कुलकी बुहारी हौ । के म तिम्रो यस हाँसोको कारण थाहा पाउन सक्छु ? द्रौपदीले गम्भीर हुँदै भनिन्– पितामह, आज हजुर हामीलाई अन्यायविरुद्ध लड्नुपर्छ भन्ने उपदेश दिइरहनुभएको छ । तर, जब कौरवसभामा मलाई निर्वस्त्र गर्ने कुचेष्टा चलिरहेको थियो, त्यतिखेर हजुरको यो उपदेश कहाँ गएको थियो ? हजुरले किन मौनधारण गर्नुभएको थियो ? यही सम्झेर मेरो हाँसो फुस्केको हो ।
भीष्मले आँखाभरि आँसु बनाउँदै भने– पुत्री, तिमीलाई थाहा छ, मैले त्यतिखेर दुर्योधनको अन्न खाइरहेको थिएँ । त्यो अन्न जनतालाई दुःखी बनाएर जम्मा गरिएको थियो । त्यस्तो अन्न खाएकाले मेरो संस्कार क्षीण भएको थियो । त्यसैले, त्यतिखेर मेरो बोली बन्द भएको थियो । तर, अब भने त्यस अन्नबाट बनेको रगत मेरो शरीरबाट बगिसकेको हुनाले मेरो स्वाभाविक संस्कार फिर्ता आइसकेको छ । त्यसैले, मेरो मुखबाट उपदेश निस्किरहेको छ । पुत्री, मान्छेले जस्तो अन्न खान्छ, उसको मन पनि त्यस्तै बन्छ ।