
युक्रेन–रुस युद्ध अन्त्य गर्ने अमेरिकाको नयाँ प्रयासका बिच बेलायतले बुधबार संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली राष्ट्रहरू संलग्न नयाँ चरणको वार्ताको आयोजना गर्दै छ।
अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकफले यस हप्ता मस्को भ्रमण गर्ने ह्वाइटहाउसले पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि यो उनको चौथो रुस भ्रमण हुनेछ।
अमेरिकी मिडियाले जनाएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प क्रिमियामा अधिग्रहित भूमिलाई रुसी क्षेत्रको रूपमा मान्यता दिन तयार भएको समयमा लन्डन बैठक हुन लागेको हो।
समाचारहरूका अनुसार यो प्रस्ताव पहिलोपटक गत हप्ता पेरिसमा युरोपेली राष्ट्रहरूसँगको यस्तै बैठकमा उठाइएको थियो। त्यसयता ट्रम्पले द्रुत प्रगति नभएमा संघर्ष अन्त्य गर्ने प्रयासहरू ‘पास गर्ने’ धम्की दिएका थिए।
यद्यपि, रुसले छोटो इस्टर युद्धविरामपछि यस हप्ता हवाई आक्रमण पुनः सुरु गर्यो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको देश युद्धविरामपछि मात्र रुससँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताए।
क्रेमलिनले युद्धविराम सम्झौतामा हतार गर्न नसक्ने बताएको छ। ट्रम्पले चुनावी अभियानमा २४ घण्टामा मस्को र किभबिच सम्झौता गर्ने वाचा गरेका थिए, तर युक्रेनमा रुसी सेना रोक्न राष्ट्रपति भ्लादिमिर पुटिनबाट छुट प्राप्त गर्न असफल भएका छन्।
सप्ताहन्तमा ट्रम्पले दुई पक्ष युद्धविरामको नजिक पुग्ने कुनै संकेत नभए पनि ‘यस हप्ता’ सम्झौता हुन सक्ने आशा गरेको बताए। गत बिहीबार घटनाहरूबारे छलफल गर्न अमेरिकी, फ्रान्सेली र बेलायती विदेशमन्त्रीहरूका साथै जर्मनीका एक वरिष्ठ अधिकारी पेरिसमा भेटेका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्ध अन्त्य गर्न अमेरिकी योजना प्रस्तुत गरेको, तर कुनै विवरण नदिइएको बताए। रुबियोले पेरिस बैठकपछि टेलिफोन वार्तामा आफ्ना रुसी समकक्षी सर्गेई लाभारोभसँग पनि योजनाबारे छलफल गरे।
पेरिस वार्तापछि रुबियो र ट्रम्पले द्रुत प्रगति नदेखेमा संयुक्त राज्य अमेरिका शान्तिवार्ताबाट बाहिरिन सक्ने चेतावनी दिएका छन्।