
नेपाल बार एसोसिएसनको मतगणनामा सत्तानिकट गठबन्धनको प्रारम्भिक अग्रता देखिएको छ । शनिबार सम्पन्न निर्वाचनको सोमबार दिउँसो १ बजेबाट मत गन्न सुरु गरिएको छ।
निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार हालसम्म पाँच मतदान केन्द्रको नतिजा आएको छ । उनका अनुसार पूर्वबाट मत गन्न थालिएको छ । हालसम्म झापा, इलाम, धनकुटा, उदयपुर र सिराहाको मत गणना सम्पन्न भएको छ ।
‘पाँचै जिल्लाको गरी विजय मिश्रको २१५ र रमण श्रेष्ठको १३२ मत छ । महासचिवमा केदारप्रसाद कोइरालाको २२६ र यज्ञमणि न्यौपानेको १०४ मत छ,’ सिटौलाले भने । मिश्र र कोइराला सत्तानिकट कानुन व्यवसायी संगठन डिएलए र पिपिएलका हुन् ।
हालसम्मको प्रारम्भिक गणना नजिताअनुसार कोषाध्यक्षमा पनि सत्तानिकट गठबन्धनकै अग्रता देखिएको छ । उक्त पदमा जगतबहादुर कार्कीको २२८ मत छ भने श्रेष्ठको प्यानलबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका दीपक कार्कीले हालसम्म १०३ मत ल्याएका छन् ।
देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनका लागि २३ चैतमा चुनाव भएको थियो । कुल नाै हजार ९९७ मतदाता भए पनि ३५ वटा केन्द्रहरूमा कुल सात हजार ९९५ मत खसेको थियो । बारमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति रहन्छ ।
२७औँ कार्यसमितिका लागि भएको निर्वाचनमा कुल ५७ उम्मेदवार थिए । सबै पदको मत एकैपटक गणना भइरहेको छ । ‘आज कम मतदाता भएका स्थानहरूमा एक दर्जनजति गन्ने योजना छ । भोलि (मंगलबार) बिहान ८ बजेबाट पुनः मतगणना सुरु हुन्छ,’ सिटौलाले भने ।