
ऊर्जा, जलसोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा चाँडै भिसी नियुक्ति हुने बताएका छन् । मन्त्री खड्काले सरकारले विश्वविद्यालयको भिसी तत्कालै नियुक्ति गरी काम अगाडि बढाइने बताए ।
संखुवासभाको सदरमुकाम खाँदबारीमा सोमबार योगमाया विश्वविद्यालयको दीर्घकालीन गुरु योजना तर्जुमाका लागि राष्ट्रिय परामर्श गोष्ठीको उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । योगमाया विश्वविद्यालय सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै छिट्टै कर्मचारी व्यवस्थापन हुने बताए ।
अरुण उपत्यकामा प्रशस्त सम्भावना रहेकाले नै योगमाया विश्वविद्यालयको केन्द्र संखुवासभामा राखिएको मन्त्री खड्काको भनाइ छ । संखुवासभा जडीबुटीको हब भएकाले विश्वविद्यालय सञ्चालनमा धेरै सहयोग पुग्ने उनले बताए । ‘यहाँ विश्वविद्यालय बन्दा सिंगो कोशी प्रदेशलाई नै फाइदा पुग्छ । यो क्षेत्रलाई त त्यत्तिकै पनि फाइदा पुग्ने नै भयो,’ मन्त्री खड्काले भने, ‘विश्वको अग्लो सगरमाथा, पाँचौँ अग्लो मकालु हिमाल र कञ्चनजंघा हिमाल पनि यही क्षेत्रमा पर्छ । पर्यटकीय दृष्टिकोणले समेत यो क्षेत्र महत्त्वपूर्ण छ । त्यसैले विश्वविद्यालयको नाममा हिमालयन पछि थपेको हो ।’
मन्त्री खड्काले संखुवासभामा बन्न लागेको १०६३ मेगावाटको अपर अरुण आयोजनामा जिल्लाका प्रत्येक घरधुरीलाई पाँच लाख रुपैयाँबराबरको सेयर दिनेमा आफ्नो प्रतिबद्धता रहेको बताए । उनले ऊर्जाको क्षेत्रमा विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै स्थानीय जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिने माध्यम भनेको जलविद्युत् भएको बताए । गोष्ठीको उद्घाटन गर्न मन्त्री खड्का आइतबार गृहजिल्ला संखुवासभा आएका हुन् । उनी आज (सोमबार) काठमाडौं फर्किएका छन् ।