
उदयपुरको गाईघाट फुटबल क्लब धनकुटामा जारी १७औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनकुटाको तल्लो टुँडिखेलमा आज शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै गाईघाट फाइनलमा प्रवेश गरेको हो।
खेल सुरु भएको एक मिनेट नबित्दै एक गोलले पछि परेको गाईघाटले दोस्रो हाफमा पुनरागमन गर्दै फाइनलको यात्रा तय गरेको हो। खेलको पहिलो मिनेटमै एपिएफका १० नम्बर खेलाडी युवराज खड्काले टिमलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा एपिएफ सेमिफाइनलबाटै बाहिरिएको हो।
फाइनल यात्रा तय गर्न सफल गाईघाटका लागि ६०औँ मिनेटमा १४ नम्बर जर्सीका खेलाडी किस्मत लिम्बू र ७०औँ मिनेटमा १० नम्बर जर्सीका विदेशी खेलाडी फोफोनाले एक–एक गोल गरे। गाईघाटलाई सेमिफाइनलमा पुर्याउन पनि फोफोनाले मात्र एक गोल गरेका थिए। ब्वाइज फुटबल क्लब इटहरी सुनसरीलाई १–० गोलले पराजित गर्दै गाईघाट सेमिफाइनलमा प्रवेश गरेको थियो।
आजको खेलको म्यान अफ दी म्याच गाईघाट फुटबल क्लबका विदेशी खेलाडी फोफोना घोषित भए। उनले नगद पाँच हजार पाँच रुपैयाँ हात पारे।
भोलि उपाधिका लागि गाईघाट फुटबल क्लब उदयपुर र नवबुद्ध युथ फुटबल क्लब सप्तरीबिच प्रतिस्पर्धा हुनेछ। नवबुद्धले सेमिफाइलनमा बिर्तामोड युनाइटेड क्लब झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।