
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले वर्ष २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ।
एपिएफ क्लबका अध्यक्षसमेत रहेका वरिष्ठ उपरीक्षक विकास घिमिरेले आगामी शुक्रबार अवार्ड हुने जानकारी गराए।
कार्यक्रममा वर्ष उत्कृष्ट हुने पुरुष र महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम तथा मोस्ट पपुलर प्लेयरले जनही नगद ५० हजार प्राप्त गर्नेछन्। त्यस्तै, लाइफ टाइम अचिभमेन्ट, स्पेसल अवार्डबाट विभिन्न व्यक्तित्व सम्मानित हुँदै छन्।
हलचोकस्थित कृष्णमोहन स्मृति भवनमा हुने कार्यक्रमका अवसरमा एपिएफका पूर्वखेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिन लागेको हो। क्लबले खेलाडीलाई एपिएफ आइजी कमेन्डेसन अवार्ड पनि प्रदान गर्ने भएको छ। एपिएफले पहिलोपटक यो अवार्ड आयोजना गर्न लागेको हो।
नेपाली खेलकुदमा एपिएफ क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आफ्ना खेलाडीलाई प्रोत्साहनस्वरूप यो अवार्ड आयोजना गर्न लागिएको एपिएफले जनाएको छ।