
मकवानपुरको कैलाशबाट लुटिएको प्रहरीको पेस्तोल भेटिएको छ। मकवानपुर प्रहरीले उक्त पेस्तोल कैलाश गाउँपालिका– १ स्थित वोलने लेकको जंगलमा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार लागुऔषध कारोबारीले प्रहरीबाट लुटेर लगेको पेस्तोल फालेको अवस्थामा गोलीसहित भेटिएको हो। कैलाश गाउँपालिका– ६ दुम्सीखर्कस्थित जंगलमा लागुऔषध कारोबारीले सोमबार प्रहरीको साथबाट सात राउन्ड गोली लोड भएको टाइप– ५४ पेस्तोल लुटेर भागेका थिए।
पेस्तोल र लुटेराको खोजीमा प्रवक्ता अर्यालकै नेतृत्वमा ६५ जना प्रहरी सोमबार बेलुकादेखि परिचालन गरिएको थियो।
अफिमको कारोबार भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द मग्राती कैलाश गाउँपालिका– ६ दुम्सीखर्कको जंगलमा पुग्दा दुई केजी अफिम र मोटरसाइकल छाडेर कारोबारी भागेका थिए।
अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालय पालुङतर्फ आउने क्रममा दुम्सीखर्कनजिकै अफिम कारोबारीसहितको करिब १५ जनाको समूहले घेरा हालेर प्रहरीलाई कुटपिटसमेत गरेर पेस्तोल लुटेर भागेका थिए।