
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियू सभापति नेविसंघले जितेको छ । कडा प्रतिस्पर्धाका बिच नेविसंघका दीपकराज जोशी विजयी भएका हुन् । उनले अनेरास्ववियूका सिद्धान्त भट्टलाई आठ मतले पराजित गरे । विजयी भएका जोशीले ७८९ र निकटतम प्रतिस्पर्धी अनेरास्ववियूका भट्टले ७८१ मत ल्याए । अखिल (क्रान्तिकारी) का प्रवीन दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ र अर्की स्वतन्त्र उम्मेदवार पदमा भुसालले १६६ मत प्राप्त गरिन् । खड्का अनेरास्ववियूनिकट र भुसाल नेविसंघ निकट हुन् । संगठनले टिकट नदिएपछि उनीहरू स्वतन्त्र उम्मेदवार दर्ता गराएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
केन्द्रीय क्याम्पसमा सभापति नेविसंघले जिते पनि अन्य सबै पदमा अनेरास्ववियुले जितेको छ । सचिवमा हिक्मतकुमार बुढा, कोषाध्यक्षमा सञ्चमाया सुब्बा र सदस्यमा निर्वाचित हुने सबै अनेरास्ववियूका उम्मेदवार छन् । ६ हजार १४६ मतदाता रहेको केन्द्रीय क्याम्पस त्रिविमा तीन हजार ११८ मत खसेको थियो । ५ चैतमै चुनावको तालिका तय भए पनि विद्यार्थीहरूकै अवरोधका कारण चुनाव हुन सकेको थिएन । विद्यार्थीहरूले यसअघि उपकुलपति, रजिस्ट्रार, रेक्टरलगायतको कार्यकक्षमा तालाबन्दी गरेपछि चुनाव रोकिएको थियो । पटक–पटक निर्वाचन मिति तोकिँदै आए पनि सोमबार मतदान भएको हो ।
त्रिविले ५ चैतमा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियू निर्वाचन गराउन आह्वान गरे पनि विद्यार्थीका कारण एकै चरणमा सबै क्याम्पसमा चुनाव हुन सकेन । ६२ आंगिक क्याम्पसमध्ये करिब पाँचवटा क्याम्पसमा चुनाव हुन अझै बाँकी रहेको त्रिविले जनाएको छ । सम्बन्धनप्राप्त ३४० हाराहारी क्याम्पसमा चुनाव गर्नुपर्ने भनिए पनि १० क्याम्पसमा चुनाव अझै हुन सकेको छैन । तर, चुनावको सबै विवरण त्रिविले राखेको देखिँदैन ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले चुनावको तथ्यांक संकलन गरी एकीकृत गर्ने प्रक्रियामा विद्यार्थी संगठनले सहयोग नगरेको जानकारी दिए । चुनाव सर्दै जाँदा त्रिविको शैक्षिक क्यालेन्डरमै असर परेको भन्दै २० चैतसम्म मात्रै निर्वाचनको मिति तोकिएको छ । त्यसपछि चुनाव गराउन नपाइने निर्णय त्रिविले गरिसकेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले चुनाव लम्बिँदै जाँदा शैक्षिक क्यालेन्डर बिथोलिने र पढाइ प्रभावित हुने भएकाले २० चैतको समयसीमा तोकिएको बताए । उनका अनुसार स्ववियू चुनावका लागि त्रिविका केही परीक्षा सारिएको छ ।
त्रिचन्द्रमा निर्वाचन अधिकृतलाई दलियो मोसो
स्ववियू निर्वाचनकै कारण त्रिचन्द्र क्याम्पसमा मोसो दल्नेसम्मका घटना भएको छ । विद्यार्थी संगठनहरूले निर्वाचन अधिकृत अंगदमणि गौतमलाई मोसो दलेका छन् । चुनाव गराउन उचित भूमिका नखेलेको भन्दै विद्यार्थी संगठनले मोसो दलेका हुन् । त्रिचन्द्रमा मंगलबार निर्वाचन हुँदै छ । यसअघि पटक–पटक अवरोध भएको तेह्रथुम क्याम्पसमा आइतबार निर्विरोध रूपमा स्ववियू सभापति चयन गरिएको छ । अध्यक्ष नेविसंघ, उपाध्यक्ष र सचिव अनेरास्ववियू र कोषाध्यक्ष अखिल क्रान्तिकारीले भागबन्डा गरेका छन् ।
तिला कर्णाली क्याम्पसमा क्रान्तिकारीका सिंह विजयी
कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका हिक्मत सिंह सभापतिमा निर्वाचित भएका छन् । उनले ७२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी अनेरास्ववियु र नेविसंघको गठबन्धनबाट उम्मेदवार बनेकी दिपा शाहीले ५३ मत प्राप्त गरिन् । सचिवमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनका खगेन्द्र पाण्डे ७१ मतसहित विजयी भए । कोषाध्यक्षा साझा प्यानलकी मिना शाही ६३ मतसहित विजयी भइन् । कुल १४५ मतदाता रहेको क्याम्पसमा १३३ मत खसेको थियो । सभापतिमा पुनः निर्वाचित सिंहले आफ्नो पहिलो कार्यकालमा सुरु गरिएका, तर पूरा नभएका योजना सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।