
नेकपा एमाले धनकुटाले आज सोमबार धनकुटामा बृहत मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको छ। प्रतिगामी हर्कतको विरोध गर्दै एमाले धनकुटाले मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गरेको हो।
राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै त्यसविरुद्ध एमालेले देशभर विरोध प्रदर्शन गरिरहेको छ। धनकुटा बसपार्कमा भेला भएर शुरु भएको मोटरसाइकल र्याली श्रीवानी, डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो।
विरोध सभालाई सम्बोधन गर्दै एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले राजावादीको नाममा अराजक समूहले काठमाडौंमा गरेको हर्कतको विरोध गरे। जनताको रगतपसिनाले ल्याएको गणतन्त्रलाई एमालेले कुनै पनि हालतमा धरापमा पर्न नदिने बताए। र्यालीमा स्वतस्र्फुत सहभागीहरुलाई धन्यवाद दिँदै अध्यक्ष आङलाले एमाले जहिले पनि जनताको पक्षमा रहेको बताए।
सभामा पार्टीका केन्द्रीय सदस्य सकुन्तला बस्नेत, बीना राई, कोशी प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङलगायतको सहभागिता थियो। बृहत मोटरसाइकल र्याली एक हजार भन्दा बढी मोटरसाइकल प्रदर्शन गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले बताए।