
मकवानपुरको कैलाशमा सम्पन्न तेस्रो संस्करणको उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको छ। गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा ५ नम्बर वडाले ३ नम्बर वडालाई ३–१ को सेटमा हराएको हो।
वडा नम्बर ५ ले ३ लाई २५–१४, २३–२५, २५–१६ र २५–२३ को सेटमा हराएको हो। उपाधि जितेको वडा नम्बर ५ ले नगद ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै उपविजेतामा सिमित भएको वडा नम्बर ३ ले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेलकुद विकास समिति कैलाशका संयोजक मोहन वाईवाले जानकारी दिए।
प्रतियोगितामा वडा ५ का धिरज लो सवोत्कृृष्ट खेलाडी घोषित हुँदा वडा नम्बर ४ का नमराज मोक्तान उदीयमान खेलाडी घोषित भए। यस्तै प्रतियोगितामा उत्कृष्ट स्पाइकर वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डर वडा ५ का विजय तितुङ, उत्कृष्ट सेटर वडा ३ का बालचन्द्र मल्ल, उत्कृष्ट ब्लकर वडा ५ का वीरबहादुर वाईबा र उत्कृष्ट प्रशिक्षक वडा ५ का गोविन्द वाईबा घोषित भए। उनीहरुलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ।
खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर ५ का वडाध्यक्ष छेकु लामा, वडा ३ का कार्यवाहक अध्यक्ष राममाया प्रजा, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतले विजेता, उपविजेता र उत्कृष्ट भएका खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।