मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १८ सोमबार १६:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार हत्या र सञ्चारगृहमाथि आक्रमणको पत्रकार महासंघ बागमती र मकवानपुरद्वारा ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १६:१९:oo

शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत दोषीलाई कारबाहीको माग गरेका छन् ।

सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई भेटी मकवानपुरका पत्रकारले ध्यानाकर्षणपत्र बुझाउँदै दोषीलाई कारबाहीको माग गरेका हुन् ।

मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले राजावादीहरूको प्रदर्शन उग्र बन्दा समाचार संकलनका क्रममा पत्रकारको हत्या र आमसञ्चारमाध्यममा आक्रमण हुनु दुःखद भएको बताए । उनले शुक्रबारको घटनामा एभि न्युजका पत्रकार सुरेश रजकको मृत्यु नभई हत्या भएको दाबी गरे । पत्रकार हत्या, कुटपिट र सञ्चारगृहमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरी दोषीलाई कडाभन्दा कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

यस्तै, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण नियोजित रूपमा भएको र यस्तो निन्दनीय कार्यको पत्रकार महासंघ मकवानपुरले घोर भर्त्सना गर्ने बताए । उनले नागरिक समाजको अग्रणी संस्थाको रूपमा रहेको पत्रकार महासंघ राजनीतिक रंगमा हुने अवाञ्छित र अराजक गतिविधि सदैव विरोधमा रहेको उल्लेख गर्दै दोषीउपर कडा कारबाहीको माग गरे ।

ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री लामाले आमसञ्चार क्षेत्र र प्रदेश सरकार दुवै लोकतन्त्रको अभिन्न अंग हुनुका साथै एक–अर्काको परिपूरक भएकाले राजावादीको नाममा सञ्चार क्षेत्रमा भएको आक्रमणको विरोध गर्ने बताए । उनले प्रदेश सरकारका तर्फबाट आफूले पत्रकार र सञ्चारगृहका सुरक्षाका लागि खेल्नुपर्ने भूमिकाको लागि सदैव तत्पर रहेको स्पष्ट पारे ।

यस्तै, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि आमसञ्चार क्षेत्रमाथि भएको आक्रमणबाट आफू दुःखित भएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको सुरक्षाका लागि आफू तयार रहेको र पत्रकारहरूको माग माथिल्लो तहसम्म पुर्‍याउन प्रतिबद्ध रहेको बताए ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यत्रममा पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहाल लगाएत विभिन्न पत्रकार संगठनका प्रमुख एवं प्रतिनिधि तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।