
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज (सोमबार) अपराह्न ४:३० बजेका लागि बोलाएको सर्वदलीय बैठक भोलि मंगलबार बिहान बस्ने भएको छ। भोलि मंगलबार दिउँसो बस्ने बागमती प्रदेश सभाको बैठकअघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच छलफलका लागि भन्दै आज (सोमबार) सर्वदलीय बैठक बोलाएका थिए ।
आजै अपराह्न प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने र सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेलसमेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक भोलिका लागि सारिएको बुझिएको छ ।
सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सभा सञ्चालनको विषयहरू टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ ।
सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्षबिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेश सभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाइ छ ।
११० सदस्यीय बागमती प्रदेश सभामा सात दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुखसहित), राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी सात, नेमकिपा तीन र हाम्रो नेपाली पार्टी दुई सांसदसहित प्रतिनिधित्व रहेको छ ।