
महाभारत गाउँपालिका- ५ मुख्य टोलका नीरज पुलामीले कफी खेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका छन् ।
यसअघि उनी मकै खेतीको भरमा थिए । तीन वर्षअगाडि ६ सय बोट कफी रोपेर खेती सुरु गरेका उनले हाल नयाँ बोटहरू रोप्ने तयारीमा बारीभरि खाल्डो खनेका छन् । ‘यस वर्ष मात्रै चार सय किलो फल्यो,’ उनले भने, ‘केही बिक्री भयो, केही बाँकी छ ।’ दाजुभाइको सहित गरेर उनीहरूले १८ रोपनीमा कफी लगाएका छन् । कफी काँचो प्रतिकेजी रु. १३० र सफा गरेर सुकाएपछि रु. ८३० सम्ममा बिक्री गरेको उनले बताए ।
करिब १० वर्ष अगाडिदेखि थोरै मात्रामा कफी खेती सुरु गरेका सोही गाउँका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्दा कफीबाट राम्रो आम्दानी भएपछि कफी खेतीलाई प्राथमिकता दिएका छन् । स्थानीय सरकारले सिँचाइको व्यवस्था गरिदिएमा अझ उत्पादन वृद्धि गर्न सकिने मोक्तानको भनाइ छ ।
नीरज र लालबहादुर मात्रै होइनन्, यहाँका अधिकांश किसान कफी खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने, घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जीविकोपार्जनमा टेवा पुगेको स्थानीय कान्छा ब्लोन बताउँछन्। मकैले खाद्यान्नका रूपमा मात्रै धान्ने गरेकामा कफीबाट नगद प्राप्त गर्न सकिने भएकाले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको उनले बताए ।
यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।