
एक लाख १० हजार रुपैयाँ लेनदेनको विवादमा काठमाडौंको गोकर्णेश्वरमा एक युवकको हत्या भएको छ। सर्लाहीको चक्रघट्टा गाउँपालिका घर भई गोकर्णेश्वर– ५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साहको हत्या भएको हो । गोकर्णेश्वर– ८ माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपमा उनको हत्या भएको हो। वर्कसपको पछाडि खाली जग्गामा शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उनका अनुसार हत्यामा संलग्न ६ जना पक्राउ परेका छन्
घटना गत ११ चैतको हो। साह लेनदेनको विषयमा छलफल गर्न वर्कसपमा गएका वेला विवाद भएपछि कुटपिट गरेर हत्या गरेका हुन्। हत्यापछि घटना लुकाउन शव गाडेका थिए। सर्लाहीको एउटै गाउँका उनीहरू साथी हुन्।
हत्यामा संलग्न सर्लाही चक्रघट्टा गाउँपालिका– १ घर भई गोकर्णेश्वरको बाहुनधारामा वर्कसप चलाउने निपु मण्डल, विजय यादव, कुमार महतो, जोधन मण्डल, उत्तम मण्डल र भारतको बिहार घर भएका सुनील शर्मा छन्। उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धका डिएसपी जयश्वर रिमालले बताए।
साह ११ चैतेदेखि नै हराएको भनेर प्रहरीमा उजुरी परेको थियो। अनुसन्धानको क्रममा साथीबाट नै हत्या भएको खुलेको हो।