मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २१:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारको ज्यान जाने गरी भएको आगजनी र तोडफोडप्रति पत्रकार महासंघको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २१:२४:oo

नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा अराजक समूहले सञ्चारगृह र सञ्चारकर्मीमाथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाएको छ। शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा आगजनीको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले महासंघ स्तब्ध भएको बताएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनकारी समूहले अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरेको, कान्तिपुर टेलिभिजनको भवनमा जबर्जस्ती प्रवेश गर्न खोज्दा ढुंगामुढा गरेको र हिमालयन टेलिभिजनको सवारीसाधनमा क्षति पुर्‍याएको उल्लेख छ। ‘सञ्चारकर्मीलाई आतंकित तुल्याउने र ज्यानै जाने गरी भएको यो हमला घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य छ,’ विज्ञप्तिमा भनिएको छ।

महासंघले शान्तिपूर्ण प्रदर्शनको संवैधानिक अधिकारको सम्मान गर्ने जनाउँदै आन्दोलनको नाममा प्रेसलाई त्रसित बनाउने र सञ्चारकर्मीको ज्यान लिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने ठहर गरेको छ। घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन, क्षति पुगेका सञ्चारमाध्यमलाई उचित क्षतिपूर्ति प्रदान गर्न र सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग जोडदार माग गरेको छ।

‘लोकतन्त्र र प्रेसविरोधी यस्ता क्रियाकलाप दोहोरिए महासंघ त्यसविरुद्ध कडा रूपमा उत्रन बाध्य हुनेछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ। साथै, मृतक पत्रकार सुरेश रजकको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। ‘मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।