मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १२ मंगलबार
  • Wednesday, 26 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १२ मंगलबार o६:o३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बुद्ध एयरको टिकट प्रणाली ‘ह्याक’ : २० टिकट बिक्री भएपछि खुल्यो रहस्य, दुई पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १२ मंगलबार o६:o३:oo

बुद्ध एयरको टिकट प्रणाली ‘ह्याक’ गरी ह्याकरले २० वटा टिकट बिक्री गरेको घटनाले देशको हवाई प्रणाली र सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । बुद्धको विभिन्न गन्तव्यका लागि टिकट बिक्री गरेर रकम आफैँ लिएका दुई ह्याकर पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । यद्यपि, ह्याकरले बिक्री गरेका टिकटबाट कसैले यात्रा नगरेको बुद्ध एयरले जनाएको छ । 

अनधिकृत तवरले टिकट बिक्री भएपछि बुद्ध एयरले प्रहरीलाई सूचना दिएको थियो । सूचनापछि प्रहरीले टिकट खरिदकर्तालाई निगरानीमा राख्दै आइतबार पक्राउ गरेको हो । प्रहरीले मोरङ रंगेली नपा–७ का ४५ वर्षीय विकास भारती र गोरखा आजिरकोट गापा–३ का ३७ वर्षीय बाबुराम अधिकारीलाई पक्राउ गरेको छ । 

घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बुद्धको हवाई टिकट प्रणाली ‘ह्याक’ गरी टिकट बिक्री भएको भेटिएको र दुई पक्राउ परेको बताए । ‘बुद्ध एयरको टिकट प्रणाली ह्याक भएको देखियो । टिकट बिक्री गर्ने उद्देश्यले प्रणालीमा उनीहरूको प्रवेश भएको देखिन्छ,’ उनले भने, ‘यस क्रममा उनीहरूले २० वटा टिकट बिक्री गरेका छन् । रकम आफैँ लिएका छन् । उनीहरू पक्राउ परेका छन् ।’

प्रहरीका अनुसार प्रणाली ह्याक गर्नेमध्येका भारती आइटीका टेक्निसियन हुन् । उनी यसअघि पनि ठगीसम्बन्धी कसुरमा पक्राउ परेका थिए । उनकै योजनाअनुसार बुद्धको टिकट प्रणाली ह्याक भएको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए । ‘पक्राउमध्ये भारती आइटीका एक्स्पर्ट हुन् । उनकै योजनामा टिकट प्रणालीमा अनधिकृत प्रवेश भएको देखिन्छ । उनी विगतमा पनि ठगीसम्बन्धी कसुरमा पक्राउ परेका रहेछन् ।’

बुद्ध एयरको सूचनापछि प्रहरीले अनलाइनमार्फत भएको कारोबारमा नजर राखेको थियो । यही क्रममा प्रहरी ह्याकर भारती र अधिकारीसम्म पुगेको थियो । 

बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले अनधिकृत तवरले टिकट बिक्री भएको सूचनापछि खरिदकर्तालाई निगरानी गरिएको र सोही क्रममा भारती पक्राउ परेको बताए । हवाई सुरक्षा संवेदनशीलतामा बुद्ध एयर चनाखो रहेको र सुरक्षा प्रणाली अझै मजबुत बनाउनेतर्फ ध्यान गएको उनले बताए । ‘हाम्रो प्रणालीमा छिरेर हवाई टिकट बिक्री भएको भेटियो । खरिदकर्ता पछ्याउने क्रममा बिक्रीकर्ता पक्राउ परे । हवाई सुरक्षाप्रति बुद्ध एयर संवेदनशील छ । घटनापछि हामी अझ सजग भएका छौँ,’ उनले भने ।