
तनहुँको आँबुखैरेनी गाउँपालिका– ३ की २५ वर्षीया सरिश्मा गुरुङले ०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । हाल उनले मासिक दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन् ।
गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु. २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु. आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ। खर्च कटाएर मासिक करिब रु. दुई लाख बचत हुने उनले बताइन् । ‘पोखरा र काठमाडौंमा काम भइरहेको छ ।
‘ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ,’ गुरुङले भनिन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् । ‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ,’ उनले भनिन् । रासस