मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २ शनिबार
  • Saturday, 15 March, 2025
२o८१ चैत २ शनिबार १४:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्याड डिस्पोजल मेसिनले छात्रालाई सहज 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार १४:o४:oo

महिनावारीका समयमा छात्राहरुले प्रयोग गरेका सेनेटरी प्याड सुरक्षित व्यवस्थापन गर्न जिल्लाको सिद्ध कुमाख गाउँपालिकाका सबै माध्यमिक तहका विद्यालयमा प्याड डिस्पोजल मेसिन जडान गरिएको छ । सुरक्षित महिनावारी, हाम्रो जिम्मेवारी भन्ने नारा अनुसारको कामलाई सुरक्षित र स्वच्छ बनाउन पालिकाले प्रयोग भइसकेको सेनेटरी प्याड सुरक्षित व्यवस्थापन गर्न उपकरण जडान गरेको छ । सेनेटरी प्याडको प्रयोगसँगै यसको सुरक्षित व्यवस्थापनमा देखिएको चिन्ता समाधानमा यो कार्य सार्थक हुने विश्वास लिइएको सिद्ध कुमाख गाउँपालिकाले जनाएको छ । 

सिद्धकुमाख गाउँपालिकाले पालिकाभरका छ वटा माध्यमिक विद्यालयमा निःशुल्क प्याड वितरणसँगै प्याड नष्ट गर्ने मेसिन जडान गरेको गाउँपालिका अध्यक्ष भरत गिरीले जानकारी दिए । ‘छात्राहरु महिनावारी भएको समयमा विद्यालयमा नै नआउने, प्रयोग गरेको प्याडलाई नै व्यवस्थापन गर्न गाह्रो हुने लगायतका थुप्रै समस्या थिए, हामीले प्याड उपलब्ध गराएका थियौं तर प्रयोग गरिएको प्याड व्यवस्थापनमा चासो दिएका थिएनौं’ उनले भने।  ‘छात्राहरुको चाहना, माग र आवश्यकताका आधारमा सबै विद्यालयमा प्याड डिस्पोजल मेसिन जडान गरिएको जसले छात्रा र शिक्षिकालाई सहज भएको उनको भनाइ छ ।  प्याड डिस्पोजल मेसिनले वातावरण सफा राख्न पनि मद्दत मिल्ने अध्यक्ष गिरीले बताए । 

विद्यालयमा कुल सात सय विद्यार्थी छन् । तीमध्ये प्याड प्रयोग गर्ने छात्राहरूको संख्या तीन सय हाराहरी छ । मेसिन जडान पश्चात प्रयोग भइसकेको प्याडको व्यवस्थापनले सहज भएको निराजन माध्यमिक विद्यालय सिद्ध कुमाख ३ ढोरचौरका प्रधानाध्यापक धर्मराज घर्तीले बताए। मागको आधारमा गाउँपालिकाले खरिद गरेको प्याड विद्यालयले विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउँदै आएको  समेत उनको भनाइ छ । उनले भने  ‘विद्यालयमा प्याड व्यवस्थापनको उचित व्यवस्था नभएकाले जलाउने लगायतका व्यवस्थापनले वातावरण दूषित हुने गरेको गुनासो आएको थियो तर यो डिस्पोजल मेसिनले प्याडलाई जलाएर धुलो बनाइदिन्छ, यसले वातावरणमा सकारात्मक असर पारेर स्वस्थ बनाउँछ ।’

विगतमा प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा शौचालय निकै दुर्गन्धित हुने गरेकोमा अहिले प्याड नष्ट गर्ने मेसिन जडान पछि सहज भएको निराजन माध्यमिक विद्यालयममा कक्षा ९ मा अध्ययनरत छात्रा ग्रिष्मा बोहराले बताए ।