मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २ शनिबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत २ शनिबार १५:o८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार १५:o८:oo

चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै पक्षबारे सोच्नुपर्ने दबाब महसुस गर्ने गरेको बताए ।

‘चलचित्रलाई समाजको ऐना भनिन्छ, त्यसैले त्यहाँ सकारात्मक र नकारात्मक दुवै पक्षलाई देखाउने गरिन्छ । नराम्रो देखाएर त्यसले निम्त्याउने गलत अवस्थालाई चित्रण गरेर सही गर्नुपर्ने वा सकारात्मक हुनुपर्ने दृश्य देखाउनु पर्छ । तर, हामीले हरेक विषयमा आफूलाई सङ्कुचित पारेर काम गर्न थाल्यौँ भने त्यसले हाम्रो सृजनामा ह्रास आउँछ,’ उनले भने ।

निर्देशक दीपक रौनियारले आफ्नो देशको परिवेश र कथालाई निर्धक्कसँग चलचित्रमा ल्याउन सक्ने वातावरण हुनुपर्ने बताए । आफ्नो चलचित्र ‘राजागंज’ को प्रसङ्गलाई लिएर गरिएको कडाइमा आफ्नो असहमति रहेको उनको भनाइ छ ।

चलचित्रकर्मी दीपकराज गिरीले चलचित्र निर्माणको विषय छनोट गर्दा नै प्रदर्शनको समयमा हुनसक्ने अवरोधलाई सम्झिने गरेको बताए । ‘हामीले चलचित्र प्रदर्शनमा यी-यी विषयमा विनाकारण झमेला भोग्नुपर्छ भन्ने लागेपछि लेखकले त्यहाँ सिर्जना गर्ने पात्र र परिवेशमै अङ्कुश लागेको महसुस गर्छ, मैले व्यक्त गर्न चाहेको समाजको परिवेशलाई चलचित्रमा देखाउन सकेको छैन,’ उनले भने ।

निर्देशक अशोक शर्माले विश्वमै चलचित्र काँटछाँट भन्दा पनि वर्गीकरण गर्ने परिपाटी भएकाले त्यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आग्रह गर्नुपर्ने बताए ।

निर्देशक नवीन सुब्बाले चलचित्रकर्मीको आशय समाजको सदभाव बिगार्नु नभई मनोरञ्जन प्रदान गर्दै विचार प्रस्तुत गर्नु रहेको बताए । उनले बेलाबेलामा सुनिने चलचित्र ‘सेन्सर’ को विषयमा सम्बन्धित निकायसँग छलफल गर्नु आवश्यक रहेको बताए । भेलामा निर्देशक गणेशदेव पाण्डे, उपेन्द्र सुब्बा, विनोद पौडेल, मनोज पण्डितलगायत सहभागी थिए ।