मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २ शनिबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २ शनिबार o७:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ललितले लिए एकै खेलमा ६ विकेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार o७:o८:oo

नेपाल पुलिसका स्पिनर ललितनारायण राजवंशीले १८ रन खर्चेर ६ विकेट लिएपछि एपिएफ दुई विकेटले पराजित

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले प्रधानमन्त्री एकदिवसीय (पिएम) कपमा एकै खेलमा ६ विकेट लिएका छन् । लमहीमा शुक्रबार प्रतियोगिताअन्तर्गत १५औँ खेलमा ललितले एपिएफविरुद्ध ६ विकेट हात पारेका हुन् । उनकै उत्कृष्ट बलिङ प्रदर्शनको सहयोगमा नेपाल पुलिस क्लबले एपिएफलाई दुई विकेटले हरायो । ललितले आफ्नो उत्कृष्ट स्पेलमा १८ रन खर्चेका थिए । पहिलो ब्याटिङ गरेको एपिएफले २७.४ ओभरमा सबै विकेट गुमाएर ९३ रन जोडेको थियो । प्रत्युत्तरमा पुलिसले संघर्ष गर्दै २६.२ ओभरमा आठ विकेट गुमाएर जित निकाल्यो । 

जितका साथ पुलिस दोस्रो स्थानमा उक्लेको छ । पुलिसले तीन खेलमा जित निकालेको छ । एपिएफ चार अंकका साथ तेस्रो स्थानमा झरेको छ । एपिएफले दुई जित र एक हारको सामना गरेको छ । त्रिभुवन आर्मी क्लबले तीन खेलमा ६ अंक जोडेको छ । रनरेटमा आर्मी शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेशले तीनै खेल गुमाएको छ । अंकतालिकामा कोशी पुछारमा छ । मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिमले समान दुई अंक जोडेका छन् । 

एपिएफको कमजोर ब्याटिङ
ललितको सानदार बलिङअगाडि अनुभवी खेलाडीले भरिएको एपिएफको बलियो ब्याटिङ लाइनअप कमजोर देखियो । ललितले मध्य तथा पुछारका खेलाडीलाई पेभेलिन पठाएपछि एपिएफको ब्याटिङ धर्मराएको हो । ओपनर आसिफ सेखले १५ बलमा १० रन बनाए । एपिएफका अर्का ओपनर लोकेश बमले २४ बलमा तीन छक्काको सहयोगमा २२ रन बनाए । सो इनिङ्समा सन्दीप जोराले २९ बलमा २९ रनको योगदान दिए । 

सहज लक्ष्य पछ्याएको पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले ५७ बलमा दुई छक्का प्रहार गरेका थिए । एपिएफले पुलिसलाई १८ अतिरिक्त रन दिएको थियो । स्पिनर भुवन कार्कीले ३३ रनमा तीन विकेट लिएका थिए । 

बागमतीले सुदूरपश्चिमलाई हरायो
भैरहवामा भएको खेलमा बागमतीले सुदूरपश्चिममाथि ५५ रनको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको बागमतीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले ४७ ओभरमा सबै विकेट गुमाएर दुई सय ११ रन जोडेको थियो । बागमतीका शुभ कंसाकारले ६८ बलमा ७७ रनको योगदान दिएका थिए । ओपनर आशुतोष घिरैयाले १०१ बलमा ५८ रन बनाए । सुदूपश्चिमले बागमतीलाई ३३ अतिरिक्त रन दिएको थियो । सुदूरपश्चिमको ब्याटिङमा कप्तान नारायण जोशीले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३९ रन जोडेका थिए । बागमतीले ३६ अतिरिक्त रन दियो ।