
सुन्दरवन इलाकामा जंगली जनावरको आक्रमणको डर बढी नै थियो । घना जंगलमा घाँसदाउराका लागि जाँदा जनावरबाट जोगिन हदैसम्म चनाखो हुनुपथ्र्यो । जनावरको आक्रमणबाट जोगिनकै लागि यस क्षेत्रका युवाले तीव्र गतिमा रुख चढ्ने र ओर्लिने प्रशिक्षण लिने गर्थे । गाउँकै एक वृद्धले प्रशिक्षण दिने गर्थे, जो आफ्नो जमानामा यस कलाका महारथी मानिन्थे ।
वृद्धले केही महिनादेखि युवालाई तीव्र गतिमा रुख चढ्ने र ओर्लिने कला सिकाउँदै आएका थिए । आज प्रशिक्षणको अन्तिम दिन थियो । वृद्धले सबैलाई भने– आज तिमीहरूको प्रशिक्षणको अन्तिम दिन हो । अब सबैले यस चिल्लो रुखमा तीव्र गतिमा पालैपालो चढ र ओर्लेर देखाओ । सबै युवक आआफ्नो कला देखाउन तयार भए ।
पहिलो युवक तीव्र गतिमा रुखको टुप्पामा पुग्यो र ओर्लिन थाल्यो । आधाजति ओर्लिसकेपछि वृद्धले भने– अलि होसियार भएर झर है, हतार नगर । युवक सावधानीपूर्वक ओर्लियो । यसैप्रकार बाँकी युवा पनि रुख चढे र ओर्लिए । वृद्धले सबैलाई आधा ओर्लिसकेपछि सावधान गराए । युवाहरूलाई वृद्धको यो कुरा अलि अनौठो लाग्यो र प्रश्न गरे– हजुरले हामीलाई रुख चढ्दा सबैभन्दा कठिन माथिल्लो हिस्सा पार गरेर आधाभन्दा तल झरिसकेपछि सावधान गराउनुभयो । यसको रहस्य के हो गुरु ?
वृद्धले गम्भीर हुँदै भने– रुखको माथिल्लो भाग सबैभन्दा कठिन छ भन्ने सबैलाई थाहा थियो । त्यस्तोमा जो पनि आफैँ सावधान हुन्छन् नै । तर, जब हामी लक्ष्यको नजिक पुग्छौँ, त्यतिखेर हामीलाई त्यो निकै सरल लाग्छ । अनि, जोसमा हामीबाट अधिक गल्ती पनि त्यहीँ हुन्छ । त्यसैले, लक्ष्यको एकदम नजिक पुगिसकेपछि कुनै गल्ती नहोस् भनेर मैले तिमीहरूलाई सावधानी अपनाउन सचेत गराएको हुँ । युवाले वृद्धलाई प्रणाम गर्दै भने– हामीले हजुरबाट जीवनको अमूल्य पाठ पायौँ । हामी हजुरप्रति आभारी छौँ गुरु !