मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण ७ बुधबार o७:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस सत्तापक्ष हो, तर सरकारमा देखिँदैन : कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार o७:४२:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारमा एमालेको प्रभाव देखिँदा कांग्रेस रहे पनि महसुस हुन नसकेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले कांग्रेस सत्तापक्षमा रहेको, तर सरकारमा नदेखिएको जिकिर गरेका हुन् । 

कोइरालाले सरकारका काममा कांग्रेसको फितलो प्रस्तुति देखिँदा थाहा नपाउने गरी सरकार एमालेकरण हुँदै गएको आरोप लगाए । ‘हामी सत्तापक्षमा हौँ, तर सरकारमा छैनौँ । यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ । हामी प्रतिस्पर्धी पनि हौँ । भोलिको राजनीतिमा एमालेको प्रतिस्पर्धी कांग्रेस हो । जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ,’ उनले भने । 

कांग्रेस केन्द्रीय सदस्य कोइरालाले लोकतान्त्रिक व्यवस्थामा संघदेखि प्रदेश तहसम्म संयन्त्रले सरकार चलाउनु गलत भएको बताए । केन्द्रदेखि गाउँपालिकासम्म कांग्रेस र एमालेको संयन्त्रबाट शासनको दुष्प्रयत्न भइरहेको भन्दै उनले आपत्ति जनाए । ‘संयन्त्रले सरकार चलाउने कम्युनिस्टहरूमा मात्रै हुन सक्छ । साम्यवादी देशहरूमा मात्रै संयन्त्रले देश चलाउँछ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ । लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन । कता कता नथाहा पाउने गरी एमालेकरण भइरहेको छ,’ उनले भने । 

संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको उनले बताए । साथै, सामाजिक सञ्जालसम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्ने गरी ल्याइएको उनको भनाइ थियो । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने कोइरालाले बताए । उनले विधेयक फिर्ता गरेर छलफलका आधारमा विधेयक ल्याउन माग गरे । उनले राजनीतिक स्थायित्व दिन दुई ठूला दल मिलेको भए पनि लक्ष्यअनुसार सरकार अगाडि बढ्न नसकेका भन्दै दुःख व्यक्त गरे । ‘यो सरकार चल्दै छ, अघि बढ्दै छ, संसद्लाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहेको छ, यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पारिरहेको छ । अध्यादेश राम्रो छ कि छैन, कस्तो छ भन्ने पछिको कुरा हो । संसद् बोलाउनु ६ दिनअघि अध्यादेश ल्याइन्छ । के कारणले ल्याएको, किन अर्जेन्सी परेको हो भन्ने कुरामा सरकारले जवाफ दिनुपर्छ,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले प्रजातन्त्रमा संसद्लाई अवमूल्यन गरेर कुनै पनि शासन अगाडि बढ्न नसक्ने जिकिर गरे । उनले तात्कालिक आवश्यकताको परिपूर्तिका लागि अध्यादेश ल्याउने गरे पनि संसद् सुरु हुनुभन्दा केही दिन मात्रै अगाडि ल्याउनु संसद्लाई नजरअन्दाज गरिएको आरोप लगाए । संसद्बाट कानुन बनाउँदा आर्थिक विकास र सुशासन नहुने र अध्यादेशबाट मात्रै प्रगति हुन सक्ने कुरा सम्भव नभएको उनको जिकिर थियो ।