
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुझाएका हुन् ।
मन्त्रिपरिषद्को गत २० असारको निर्णयबाट उच्च अदालतका पूर्वन्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो ।
समितिले दाङमा विश्वविद्यालयको कुल एक हजार ६ सय ६२ बिघा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिघामध्ये नौ सय १० बिघा अतिक्रमण भई ०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको प्रतिवेदनमा उल्लेख छ । सोही क्षेत्रमा विश्वविद्यालयको दुई सय बिघा जमिन राप्ती नदीले कटान गरेको पाइएको छ ।