
रिंकुकुमारी सदाको न्यायका लागि काठमाडौंको माइतीघरमा मंगलबार साँझ प्रदर्शन भएको छ । रिंकुकुमारीको मृत्यु प्रकरण बारे निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा बस्दै आएका मधेशका विभिन्न जिल्लाका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले रिंकुको सम्झनामा मैनबत्ती बालेर घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनन माग गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदालगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
गत ३० माघ सिराहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुर टोलका बिजुलिया सदाकी १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटना हुनुअघि उनीमाथि स्थानीय तीन युवक रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको र त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको थियो।