
रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्षले कर्मचारीमाथि आक्रमण गरेकाे भन्दै विरोधमा उत्रिएका कर्मचारीहरूले मंगलबार कामकाज ठप्प पारेका छन्। सोमबारको कार्यपालिका बैठकमा हात हालाहालको स्थिति सिर्जना भएको थियो।
शिक्षा समिति गठनका विषयमा विवाद भएपछि वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि भौतिक आक्रमण गरी घाइते बनाएको आरोप लगाएका कर्मचारीहरूले दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै विरोध जनाएका हुन्। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेको कर्मचारीहरूको आरोप छ। वडाध्यक्षले गालीगलोजसहित हातपात गरी घाइते बनाएको भन्दै उनीहरूले विज्ञप्ति जारी गरेका छन्। गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मंगलबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरीसमेत दिएका छन्।
दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने अडान लिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको उपस्थितिमा भएको छलफलमा कर्मचारीहरूले काममा नफर्कने अडान राखेका थिए । छलफलबाट कुनै निष्कर्ष नआएको भन्दै कर्मचारीहरूले जिप्रकामा उजुरी दिएका छन् । सुरक्षाको प्रत्याभुति नभई काममा फर्कने स्थिति नरहेको कर्मचारीहरुको भनाइ छ ।
प्रजिअ घिमिरेले कर्मचारीहरुसँगको छलफलमा सुरक्षा बारे प्रश्न उठेको र घटनाको अनुसन्धान र दोषीमाथि कारवाहीको माग भएकाले आवश्यक प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरीमा पठाएको बताए ।
गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले मंगलवार विज्ञप्ती जारी गर्दै कर्मचारीमाथि आक्रमण गर्ने वडा अध्यक्षलाई कारवाही गर्न माग गरेका छन् ।
वडा अध्यक्ष खानले भने आफूले हातपात नगरेको दावी गर्दैै आएका छन् । शिक्षा शाखा प्रमुखले पानीको बोत्तल हान्ने प्रयास गर्दा त्यसलाई रोक्न खोज्दा धक्काधक्की भएको उनको जिकिर छ । मेयर र शिक्षा शाखा प्रमुख मिलेर शिक्षा समिति बनाएका रहेछन्, त्यसैका विषयमा कुरा उठाएपछि विवाद भएको उनको भनाइ छ ।