
दलित भएकै कारण कसैको शवसमेत उठ्न नसक्नुले के संकेत गरेको छ ?
सांस्कृतिक र त्यस क्षेत्रको चलनचल्तीलाई हेर्दा अन्यत्रबाट गएको एक्लो परिवार भएकाले सामाजिक संस्कार तथा संस्कृति नमिलेकाले यस्तो अवस्था आएजस्तो देखिन्छ । तर, कसैको शव उठाउन जातीयतालाई कारण बताइएको हुनाले यो एउटा डरलाग्यो अवस्था हो । आजको २१औँ शताब्दीमा पनि यो अवस्था आउनु हामी अधिकारकर्मी या अभियन्ताहरूका लागि पनि बडो निराशाजनक अवस्था हो । हामीले अझै पनि समाजलाई सचेत गराउन सकेका रहेनछौँ भन्ने सम्झेर बडो आत्मग्लानि भयो ।
गैरदलितसँगै दलित समुदायलाई समेत यसमा अघि सर्न केले रोकेको होला ?
मूल कुरा हाम्रो समाजमा जातीय विभेद महारोगका रूपमा जरा गाडेर बसेको छ । यो घटना पनि यसैका कारण भएको हो । आफ्नो समुदायमा कसैको निधन भएको भए सबै शव बोक्न तयार हुन्थे । तर, यहाँ सबैले आफ्नो जात या समुदायको होइन भनेर पन्छिएको देखिन्छ । यसमा दलित या गैरदलित भनेर हेर्नुभन्दा पनि यसलाई जातीय विभेदको दोष मान्नु ठिक हुन्छ । यस्तो विभेद गैरदलित र दलितबिच मात्र होइन, दलित र दलितबिच नै पनि प्रशस्त छ । त्यही जातीय विभेदकारी सोचले उनीहरूलाई त्यहाँ शव उठाउनबाट रोकेको हो ।
गाउँ–गाउँमा पुर्याइएको भनिएको ‘सिंहदरबार’मा बस्ने जनप्रतिनिधिचाहिँ किन अघि नआएका होलान् ?
गाउँ–गाउँमा पुर्याइएको सिंहदरबारमा पुग्ने जनप्रतिनिधिमा केन्द्रको सिंहदरबारमा बस्नेहरूकै मानसिकता छ । उनीहरू सबैले आ–आफ्नो जातीय प्रतिनिधित्व गरिरहेका छन् । जहाँ पुगे पनि उनीहरू कत्ति पनि रूपान्तरण भएका छैनन् । जातीय विभेद हिजो जस्तो थियो, आज पनि त्यस्तै छ भन्ने बलियो उदाहरण हो यो घटना ।