
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको पहिचानका लागि ‘स्क्रिनिङ’ अभियान सुरु गरेको छ । बिहीबार पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँबजारमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अभियानको शुभारम्भ गरेका हुन् । मन्त्री पौडेलले सो अवसरमा आफनो रक्त परीक्षण समेत गरी अभियान शुभारम्भ गरेका थिए । अभियान एक महिनासम्म चल्नेछ ।
नसर्ने रोगकै कारण हुने मृत्युदर घटाउन जनचेतना जगाउने र अभिवृद्धि गर्ने उदेश्यसहित सुरु अभियानमा मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच, उचाइ र तौलको आधारमा बिएमआई मापन निःशुल्क परीक्षण हुनेछ ।
३० वर्ष माथिका सबै नागरिकले नजिकैको वा पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरू गराई स्वास्थ्य अवस्था थाहा पाउन सक्नेछन् । नेपालमा हुने कुल मृत्यु संख्यामध्ये ७९ प्रतिशतको नसर्ने रोगकै कारण हुने गरेको तथ्यांक छ ।
अभियानको थालनी गर्दै मन्त्री पौडेलले नसर्ने रोगको समयमा पहिचान गर्न नसक्दा स्वास्थ्यमा पछि धेरै समस्या आउने भएकाले ती समस्याको सुरुमै पहिचान गर्न र अन्य रोग लाग्न नदिनबाट बच्नका अभियान सुरु गरेको बताए । ३० वर्षमाथिका सबै नागरिकलाई अभियानमा सहभागी भएर परीक्षण गराउन उनले आग्रह समेत गरेका थिए ।
मन्त्री पौडेलले नेपालीलाई रोगी बन्न नदिने रणनीति तय गर्न अभियान आवश्यक रहेकोमा जोड दिए । अभियान सफल बनाउन सरोकारवाल सबैको साथ र सहयोगको खाँचो रहेको समेत मन्त्री पौडेलले बताए । नसर्ने रोगका बिरामी बढ्दै जाँदा राज्यले जति लगानी गरे पनि त्यसको प्रतिफल प्राप्त नहुने भएकाले त्यसलाई निराकरण र न्युनिकरण गर्न अभियानले सहयोग गर्ने उनको भनाइ छ ।
अभियानका लागि तीनवटै तहका सरकारबिच समन्वय आवश्यक रहेको र अब प्रत्येक वर्ष फागुन महिनामा अभियान सञ्चालन गरिने मन्त्री पौडेलले बताए ।