
संखुवासभा सदरमुकाम खाँदबारीमा सितोरियो कराते प्रशिक्षक सन्तोष याख्खा सम्मानित भएका छन् । बिहीबार आयोजित कार्यक्रमबित सितोरियो कराते महासंघ संखुवासभाले याख्यालाई सम्मान गरेको हो ।
धनकुटा स्थायी घर भई काठमाडौंमा क्रियाशिल प्रशिक्षक याख्खाले ०५१ सालदेखि ०६० सालसम्म नौ वर्ष खाँदबारीलाई कार्यक्षेत्र बनाई पाँच सयभन्दा बढी कराते खेलाडी उत्पादन गरेका थिए । सोही कारण महासंघले उनलाई सम्मान गरेको हो ।
संखुवासभामा २० वर्षअघि पहिलोपटक सितोरियो कराते संखुवासभामा भित्राएका प्रशिक्षक याख्खाले आफुले रोपेको बिरुवा हुर्किएर उनीहरुबाटै अहिले सम्मानित हुन पाउदा गर्व लागेको बताए । उनले खेलक्षेत्रमा लागेर राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा सहभागी हुने अवसर पाएको र खेलाडीलाई पनि राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराउन सफल भएकोमा खुशी व्यक्त गरे ।
‘खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका कुनै दिगो योजना ल्याउन नसकेकोमा भने दुःख लाग्छ । सरकारले खेल क्षेत्रलाई आकर्षणको क्षेत्रका रुपमा कहिल्यै लिन सकेन, स्वास्थ्य नागरिक उत्पादन, बिकासका लागि सुगठित, स्वस्थ, अनुशासित र गतिशिल नागरिक उत्पादन राज्य मौन रह्यो । अहिले खेल क्षेत्रमार्फत देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गरेका खेलाडीहरुका बारेमा राज्यले चासो दिनुपर्छ भन्ने लाग्छ,’ याख्याले भने ।