मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १ बिहीबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १ बिहीबार १७:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

९४५ वटा सवारीसाधन जाँच गर्दा ५१५ वटा प्रदूषण मापदण्डविपरीत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १ बिहीबार १७:२६:oo

काठमाडौं महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा प्रदूषण मापदण्डविपरीत भेटिएका छन्।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको सहकार्यमा गत पुस २९ गतेदेखि हालसम्म गरेको जाँचमा ५४ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्डविपरीत रहेको पाइएको हो। महानगरका अनुसार पेट्रोलबाट चल्ने २४९ वटा सवारीसाधन परीक्षण गर्दा ४४ वटा र डिजेलबाट चल्ने ६९६ वटा सवारीसाधनको परीक्षण गर्दा ४७१ वटा फेल भएका हुन्।

जाँच सुरुवातका चरणमा फेल भएका सवारीसाधनहरूलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको महानगरले जनाएको छ। सचेतनात्मक कार्यक्रमका रूपमा सुझाव दिँदा पनि मर्मत सम्भार गरेर दुरुस्त अवस्थामा चलाउने गरेको नपाइएपछि फेल हुने सवारीसाधनका चालकको कागजपत्र लिएर ५ सय रुपैयाँ जरिवाना तिराउन थालिएको छ। वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अहिलेसम्म ५५ जना सवारीचालकलाई जरिवाना तिराइएको छ। यसरी मौका प्रदान गर्दा पनि अटेर गर्नेलाई सवारीसाधन सञ्चालनमा नै रोक लगाउने महानगरपालिकाको तयारी छ।

महानगरपालिकाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७,’ ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहोरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ। यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरिएको हो।

‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोलबाट चल्ने र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ। जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपांग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (बाई भोल्युम) हुनुपर्छ। सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (बाई भोल्युम) हुनुपर्छ।

तीनपांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (बाई भोल्युम) हुनुपर्छ। दुईपांग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (बाई भोल्युम) हुनुपर्छ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ। सन् १९९५ वा सोभन्दापछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट –एचएसयु) हुनुपर्छ।