
ठेकेदारको लापरबाहीले बुधबार दिउँसो खानेपानी आपूर्तिको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । मेलम्ची खानेपानीको २० इन्च मोटो फलामे पाइप फुट्दा बाहिरिएको पानीले वरिपरि रहेका सरकारी र निजी भवन डुबानमा परेका छन् ।
नजिकै रहेको काठमाडौं जिल्ला अदालत, वन विभाग परिसर, भित्री गल्ली र स्थानीयको घरमा समेत डुबान भएको छ । विद्युत्को तार भूमिगत गर्दा जथाभावी मेसिन चलाउँदा फुटेको पाइपको पानीले केही भाग सडकसमेत भासिएको छ । चार फाँटमा क्षति पुगेपछि काठमाडौं जिल्ला अदालतले सूचना निकालेर केही इजलास केही दिन बन्द हुने जानकारी गराएको छ ।
काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का प्रोजेक्ट डाइरेक्टर टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको बताए । उनका अनुसार करिब चार घण्टासम्म पानी बग्दा ४० लाख लिटर पानी खेर गएको छ र पाइप फुट्दा ४० लाखबराबर क्षति भएको छ ।
‘पाइप फुट्नुको मुख्य कारण विद्युत् प्राधिकरण हो, खानेपानीको पाइप छ है भन्दाभन्दै पनि ध्यान नदिएर सडक खनियो,’ उनले भने, ‘अब यसको क्षति प्राधिकरणले नै व्यहोर्नुपर्छ । मर्मत गर्न ४० लाख रुपैयाँ लाग्ने अनुमान छ ।’
मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्टको पाइप गाडेको छ । विद्युत् प्राधिकरणले तार भूमिगत गराउने योजनाअन्तर्गत त्यसैमाथि खन्ने क्रममा फलामे पाइप फुटेको पिआइडीका प्रोजेक्ट डाइरेक्टर चौधरीले बताए । प्राधिकरणले विद्युत्को लाइन होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा पाइप फुटेको हो ।
बुधबार फुटेको पाइप पाँच सय एमएमको थोक वितरण प्रणाली (पल्क डिस्टिव्युस सिस्टम)अन्तर्गतको हो । थोक वितरण प्रणालीमा मोटो पाइप राखिने भएकाले त्यसमा पानी पनि प्रेसरले पठाइएको हुन्छ । काम गर्दागर्दै फुटेपछि वरपरको स्थान र सडक डुबानमा परेको थियो ।
विद्युत् प्राधिकरण काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले आफूहरूको कारण पाइप फुटेको स्विकारे । ‘हामीले काम गर्ने क्रममा पाइप फुटेको हो । यसमा हाम्रोभन्दा पनि ठेकेदारको लापरबाही हो,’ उनले भने, ‘हामी ठेकेदारलाई क्षतिको जरिवाना तिराउँछौँ । तत्कालका लागि फुटेको पाइप केयुकेएलले बनाउने निर्णय भएको छ ।’
खानेपानीको पाइप फुटेर काठमाडौं जिल्ला अदालतले भुइँतलामा रहेको २६, २७, २८ र २९ फाँटमा क्षति पुगेको जनाएको छ । क्षति भएपछि अदालतले उक्त इजलास केही दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
किन तत्काल बन्द गर्न सकिएन पानी ?
बुधबार बबरमहलमा पाइप फुटेको क्षेत्रमा पानी आफूर्ति रोक्न सकिने प्रणालीमै छ । तर, पिआइडीका अधिकारीहरूका अनुसार मोटो पाइपमा एकैपटकमा पानी नियन्त्रण गर्न भने कठिन हुन्छ । यहीकारण चार घण्टासम्म पानी रोकिएन । अधिकारीहरूका अनुसार यहाँको मोटो पाइपको पानी नियन्त्रण गर्न तीन स्थान (तिनकुने, पुतलीसडक र अनामनगर)को भल्ब बन्द गर्नुपर्ने हुन्छ । तर, एकै समयमा बन्द गर्न नसकिएको र एकातिर मात्रै बन्द गर्दा पानी फर्किएर फेरि त्यही पाइपमा आउने प्रणाली रहेको प्रोजेक्ट डाइरेक्टर चौधरीले बताए । ‘यो पाइप बन्द गर्ने प्रणाली नभएको होइन । एक त यो ठाउँ ओरालोमा छ । अर्को, पाइप आफैँमा मोटो हुन्छ । एक ठाउँबाट मात्रै बन्द गरेर हुँदैन,’ उनले भने, ‘तीन ठाउँबाट बन्द गर्दा समय लाग्यो । पाइप इन्टरकनेक्टेड हुन्छ, सबैतिर बन्द गरेपछि मात्रै रोकिन्छ ।’
चाबहिलमा पाइप फुटे हुन सक्छ ठुलो क्षति
मेलम्ची खानेपानीको सबैभन्दा मोटो पाइप चाबहिल क्षेत्रमा छ । यहाँ मेलम्चीबाट आएको मुख्य पाइप रहेको हुँदा यस क्षेत्रमा ५६ इन्च मोटो पाइप छ । ‘बबरमहलमा फुटेको पाइपभन्दा तीन गुणा मोटो पाइप चाबहिल क्षेत्रमा छ, त्यो पाइप फुट्यो भने त्यो क्षेत्र नै डुबान पर्छ,’ प्रोजेक्ट डाइरेक्टर चौधरीले भने ।
सम्भावित जोखिम न्यूनीकरणका लागि पिआइडीले पटक–पटक विद्युत् प्राधिकरण र अन्य निकायलाई पूर्वसूचनासमेत दिइसकेको छ । पिआइडीका अनुसार यहाँ पाइप फुट्दा केहीबेर सडक तथा बस्ती डुबान पर्छ । ‘सुन्दरीजल–चाबहिल खण्डमा हामीले आवश्यकताका आधारमा मोटो पाइप राखेका हौँ । यहाँ काम गर्दा अन्य निकायले बढीभन्दा बढी चासो दिनुपर्छ । तर, खानेपानीको पाइपबारे अन्य निकायलाई मतलब नै छैन । कतिपयले फुटाएर हिँड्छन्, यो राम्रो होइन,’ उनले भने ।