
गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतले आदेश दिएको छ।
जोशीलाई साेमबार रुपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतसँग उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो।
बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको रुपन्देही जिल्ला अदालतसँग उच्चअदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
सोमबार जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेपछि उनी उच्च अदालत गएका थिए। उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी कुँवरले एक नम्बर इजलासका ‘न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको बताए। कैफियत प्रतिवेदन प्राप्त भएपछि संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने उनले बताए।