मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २७ आइतबार
  • Wednesday, 12 March, 2025
२o८१ माघ २७ आइतबार २२:४o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार

कोटिहोमको समिदा भन्दै अनुमतिविनै काटिए पोखराका ३४ वटा ऐतिहासिक वरपिपलका रुख

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २७ आइतबार २२:४o:oo

आउँदो वैशाखमा पोखरामा आयोजना गर्ने भनिएको कोटिहोमको विषयलाई लिएर अहिलेदेखि नै विवाद सुरु भएको छ । मानव सेवा फाउन्डेसन नेपालले १७ वैशाखदेखि २६ जेठसम्म पोखराको प्रमुख पर्यटकीयस्थल फेवातालकिनारको बाराहीघाट र हल्लनचोकस्थित क्याम्पिङ चोकको जग्गामा ऐतिहासिक श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ गर्दैछ । सोही कोटिहोम आयोजनाका विषयलाई लिएर पोखरा महानगरपालिका र आयोजकबिच विवाद बढेको हो ।

मानव सेवा फउन्डेसनका संस्थापक एवं सञ्चालक विवादित धर्मगुरु बाल योगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी हुन् । आयोजकले कोटिहोम सञ्चालनका लागि पोखरा महानगरपालिकासँग कुनै अनुमति लिएको छैन । तर, कोटिहोममा प्रयोग हुने समिधाका लागि भन्दै महानगर क्षेत्रका ऐतिहासिक चौतारा र सडकछेउका वरपिपलका रुखका हाँगा काट्न थालेपछि विवाद बढेको हो । वरपिपलको हाँगा काट्न महानगरबाट अनुमतिसमेत लिएको छैन । अनुमति नलिई मुठारिएका रुखका हाँगा महानगरले जफत गरेको छ । 
कोटिहोमका लागि नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटको जग्गा १ वैशाखदेखि १५ जेठसम्मका लागि प्रयोग गर्ने भन्दै अनुमति लिइसकेको र त्यसबापत फाउन्डेसनले ११ लाख ५९ हजार भाडा बुझाइसकेको जनाइएको छ । 

पोखरा महानगरले भने कोटिहोम सञ्चालनका लागि कसैलाई अनुमति नदिएको जनाएको छ । आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले कोटिहोम कुनै पनि हालतमा गरिछाड्ने, कसैले अवरोध गर्न खोजे धर्मका लागि अधर्म गर्न पनि तयार रहेको चेतावनी दिएका छन् । 

कोटिहोम गर्न जग्गा नदिन नेपाल ट्रस्टलाई महानगरको पत्र 
पोखरा महानगरपालिकाले शनिबार राति इमेलमार्फत पोखरा क्षेत्रमा कोटिहोम सञ्चालनका लागि अनुमति नदिइएको जनाएको छ । २० माघमा बसेको महानगरको नगर कार्यपालिकाको ४२औँ बैठकले मानव सेवा फाउन्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटिहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णयसमेत रद्द गर्न पत्र पठाउने निर्णय गरेको मेयर धनराज आचार्यले जानकारी दिए ।

नेपाल ट्रस्टले कोटिहोमका लागि उपलब्ध गराएको भनिएको लेकसाइडस्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटक आवतजावत÷घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजन भएकाले पर्यटकीय गतिविधिमा असर पर्ने हुँदा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी अनुमति तत्काल रद्द गर्न ट्रष्टलाई पत्र पठाएको आचार्यले जानकारी दिए । महानगरले नगर क्षेत्रमा आफ्नो अनुमतिविना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमति, सिफारिस, सहमति नदिनसमेत ट्रस्टलाई पत्रमार्फत अनुरोध गरेको छ । 

कार्यपालिका बैठकले कोटिहोमका लागि समिधाका नाममा संरक्षण गरिएका पुराना र ऐतिहासिक चौतारीका वरपिपललगायत रुख–बिरुवा गैरकानुनी तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पु¥याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै उक्त कार्यमा संलग्न व्यक्ति वा संस्थालाई कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई समेत पत्र पठाएको मेयर आचार्यले जानकारी दिए ।

महानगर क्षेत्रभित्र धार्मिक, सांस्कृतिकलगायत कार्यक्रम आयोजना एवं व्यवस्थापन गर्न प्रस्ताव गर्ने सम्बद्ध संस्था÷व्यक्तिले नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति पोखरा महानगरबाट एकद्वार प्रणालीमार्फत साबिकदेखि नै हुने व्यवस्था भएकाले सोही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालय, शाखा÷महाशाखालाई निर्देशनसमेत दिएको छ ।

विवादित धर्मगुरु विजय कृष्णमूर्ति भन्छन्– धर्मका लागि अधर्म गर्न तयार छु 
कोटिहोम आयोजनाको विषयमा जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका संस्थापक एवं सञ्चालक विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले कोटिहोम रोक्न खोजे धर्मका लागि अधर्म गर्न पनि तयार रहेको चेतावनी दिएका छन् । 

आफूहरू पोखरामा कोटिहोम गर्न आएको र अब नगरी नफर्किने उनले बताए । जुन मितिमा कोटिहोम तय भएको छ, सोही मितिमा हुने उनको भनाइ छ । मानव सेवा र धर्म जोगाउन कोटिहोम गर्न लागेको उनको दाबी छ । भण्डारीले काटिएका एक रुखबराबर १० रुख रोप्ने पनि बताए । उनले कोटिहोमका कारण वातावरण प्रदूषण नहुने दाबी गर्दै प्रवचन हुने हलमा आवाज बाहिर नआउने गरी आधुनिक तरिकाले व्यवस्थापन गरिने बताए । कार्यक्रममा २५ हजारभन्दा बढी भक्तजन पोखरा आउने र यसले पोखरालाई फाइदा हुने उनको भनाइ छ ।

३४ वटा वरपिपलका रुख काटिए
कोटिहोम आयोजकले हवनमा प्रयोग गर्ने समिधाका नाममा पोखरामा रहेका ऐतिहासिक चौतारा र सडकछेउका वरपिपल र अन्य गरी ३४ वटा रुख काटेको छ । काटेका रुख केही पलाउने र केही नपलाउने गरी मुठारिएका छन् । पोखरा महानरपालिकाका नगर प्रहरीनिरीक्षक पुषोत्तम थापाका अनुसार वडा नम्बर ६ मा २१, १२ मा दुई, १३ मा दुई र १४ मा नौ वटा गरी ३४ स्थानका चौतारा र सडकछेउका वरपिपल र अन्य रुख आयोजकले काटेको जानकारी दिए । काटेकामध्ये अधिकांश रुख नपलाउने गरी मुठारिएको उनको भनाइ छ । समिधाका लागि पोखरामा काटिएका र केही अन्यत्रबाट ल्याइएका गरी ५० ट्रक काठ महानगरले जफत गरेको छ ।