
पठन संस्कृति अभियानको १०औँ शृङ्खलामा गायत्री अधिकारीद्वारा लिखित ‘वर्तमान’ उपन्यास विमोचन गरिएको छ। विजय विकास स्रोत केन्द्र गैंडाकोटमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एलबी क्षेत्री, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र पठन संस्कृति अभियानका संयोजक त्रिलोचन सापकोटाले पुस्तक विमोचन गरेका हुन्।
सुन्दर स्वदेश पब्लिकेसन्सबाट प्रकाशित पुस्तकको मूल्य २५० रुपैयाँ छ। अधिकारीको यसअघि ‘निर्णय’ कथासङ्ग्रह प्रकाशित छ। विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले गत वैशाखयता पठन संस्कृति अभियान चलाइरहेको छ। कार्यक्रममा पुस्तक चर्चा सँगसँगै भ्रमण अनुभव पनि सुनाउने गरिन्छ।
शनिबार आयोजित कार्यक्रममा गैंडाकोट निवासी शंकर आचार्यले बागलुङ यात्राको वृतान्त सँगसँगै बागलुङको स्थान परिचय प्रस्तुत गरे। त्यसैगरी युनाइटेड तक्षशिला एकेडेमी कक्षा ११ मा अध्ययनरत संसारचन्द्र सापकोटाले युवाहरू तथा बौद्धिक जनशक्तिको विदेश पलायन र यसले पारेको सामाजिक प्रभाव बारेमा चर्चा गरे।
त्यसैगरी लेखराम सापकोटाले कोरियन लेखक हान काङको ‘भेजिटेरियन’ उपन्यासको चर्चा गरे। पुस्तकले अन्तर्राष्ट्रिय म्यान बुकर पुरस्कार २०१६ प्राप्त गरेको छ भने लेखक हान काङले नोबेल पुरस्कार २०२४ जितेकी छन्। उनले नोबेल पुरस्कार प्राप्त गरेपछि उनको समग्र लेखन सँगसँगै भेजिटेरियन पुस्तकको चर्चा चुलिएको छ।
त्यसैगरी आदर्श सिग्देलले अङ्ग्रेजी किताब ‘इकिगाइ’, मेनका चापागाईंले सिर्जन अविरलको ‘तथागत’ र उदय अधिकारीले गोविन्दराज विनोदीको ‘कैकेयी’ महाकाव्यको चर्चा गरे।