संखुवासभाको चैनपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
चैनपुर नगरपालिका– ३ मा मोटरसाइकल दुर्घटना हुँदा चैनपुर– २ का मोटरसाइकलचालक २१ वर्षीय रूपेश मगरको मृत्यु भएको र पछाडि सवार रूपेशका भतिज कुमार मगरको धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरीका अनुसार गएराति करिब साढे ८ बजे चित्लाङ–पोखरी सडकखण्डअन्तर्गत चित्लाङबाट पोखरी बजारतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ३३३८ नम्बरको मोटरसाइकल सडकबाट तल खसेको थियो।
मोटरसाइकलमा सवार दुवैजना घाइते भएपछि राति नै धरानस्थित बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प लैजाने क्रममा रूपेशको बाटोमा मृत्यु भएको र कुमारको हाल धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एक व्यक्ति मृत फेला
बिहीबार दिउँसो करिब साढे १ बजेतिर संखुवासभाको चिचिला गाउँपालिका– १ डाँडागाउँका स्थानीय ३७ वर्षीय तेजबहादुर गुरुङ सडकको दायाँतर्फ मृत अवस्थामा भेटिएका संखुवासभा प्रहरीले जनाएको छ।
चिचिला प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद अधिकारीको कमान्डमा टोली खटिएर गई घटनास्थल सुरक्षित राखी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।