सिराहाको लहान नगरपालिका– ७ पुरानो बजारस्थित सुनचाँदी पसलमा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा प्रहरीले एक भारतीय नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पुरानो बजारस्थित दुर्गा मन्दिरनजिकै रहेको विकास ट्रेडर्स (सुनचाँदी पसल)मा डाँका गर्ने योजना बनाएको आरोपमा सिराहाको सुखीपुर नगरपालिका– ८ का करिब ४५ वर्षीय इन्दल भनिने इन्द्रनारायण चौधरी, लहान– २२ का करिब ३१ वर्षीय भैरव भनिने देवकुमार मुखियालाई जिल्लाबाट खटिएको टोलीले लहानबाट पक्राउ गरेको हो।
सिराहा प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा खटिएको टोलीले भारतको पश्चिम बंगाल हुगली जिल्ला ग्राम पञ्चायत भगवतीपुर– ७ का निरोज भनिने मेहराज मोन्डल तथा लहान– ४ का करिब ४१ वर्षीय दिनेश विश्वकर्मासहितलाई पक्राउ गरी बुधबार सिराहा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला उद्योग वाज्य संघ सिराहाका अध्यक्षसमेत रहेका ट्रेडर्स सञ्चालक विकासकुमार शारदाले दिएको जाहेरीको आधारमा चारजनालाई पक्राउ गरिएको हो।